भित्रियो सवा दुई अर्बको तास

नेपालमा पछिल्लो पाँच वर्षमा २ अर्ब २३ करोड रुपियाँ भन्दा बढीको तास आयात भएको भन्सार विभागको वार्षिक प्रतिवेदनहरूमा जनाइएको छ।

त्यस अवधिमा तास आयातबाट नेपालले सवा एक अर्ब भन्दा बढी राजश्व उठाएको थियो।

विशेष गरी दशैँ तिहार जस्ता ठूला चाडपर्वका अघि नेपालमा विदेशबाट भित्रिने तासको परिमाण बढ्ने गरेको तथ्याङ्कले देखाउँछ।

यो आर्थिक वर्षमा असोज महिनासम्मको आँकडा हेर्दा झन्डै ४० लाख गड्डी तास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

त्यसबाट ६ करोड ९५ लाख रुपियाँ राजश्व सङ्कलन भएको विभागले बेवसाइटमा राखेको विवरणमा जनाइएको छ। त्यसको मूल्य भने ११ करोड ७७ लाख रुपियाँ रहेको जनाइएको छ।

विगतका वर्षहरू जस्तै यसपटक सबैभन्दा धेरै परिमाणमा तास चीनबाट नेपाल भित्रिएको छ। त्यसबाहेक भारत, अमेरिका र संयुक्त अधिराज्यबाट पनि नेपालमा तासहरू भित्रने गरेको देखिन्छ। [source : bbc nepali sewa]

Exit mobile version