कोहलपुर : शैक्षिक सुधारमा केयुसँग साझेदारी

कोहलपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा बृहत सुधारको खाकासँगै काठमाडौं विश्वविद्यालय (केयू) सँग सामुदायिक विद्यालयको उत्थानका लागि महत्वपूर्ण साझेदारी गरेको छ ।


आइतबार राजधानी काठमाडांैमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र काठमाडौं विश्व विद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुइँटेल बीच साझेदारीमा हस्तान्तर भएको हो ।
‘मेरो पहिलो प्राथमिकता नै शैक्षिक क्षेत्रको बृहतर सुधार गर्नुहो’, आफु आएदेखि नै शैक्षिक क्षेत्रका लागि बढाएको बजेट सिलिङ्ग सहित प्रस्तुत भएका नगर प्रमुख आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘अब त्यसको कार्यान्वयन प्रक्रियाले मूर्त रूप पाउँदैछ ।’


कोहलपुरले अघिल्लो आर्थिक बर्षमा ७ करोड रूपैयाँ विनियोजन गरेको शैक्षिक बजेट यो बर्ष १२ करोड पुर्याएको छ । ‘म आउनु अघि कोहलपुरको शैक्षिक बजेट चार करोड हाराहारीमा थियो’, नगर प्रमुख आचार्यले भने, ‘हाम्रो पहिलो प्राथमिकता नै शिक्षा हो भन्ने कुरा प्रष्ट गरेर अगाडि बढेका छौं ।’ उनको विश्वास छ, शैक्षिक क्षेत्र सुधार भयो भने धेरै कुराको आधार बलियो बन्छ ।


कोहलपुरमा रहेका ३१ सामुदायिक विद्यालयमा १८ हजार बढी विद्यार्थी अध्ययनरत् रहेको तथ्य अघि सार्दै नगर प्रमुख आचार्यले त्यति नै हाराहारीमा संस्थागत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई पनि आफुले अभिभावकत्व प्रदान गर्ने कुरामा विश्वास दिलाउन चाहेको बताए ।


केयु सँगको समझदारी के हो ? दैनिक नेपालगन्जले गरेको प्रश्नमा नगर प्रमुख आचार्यले भने, ‘कोहलपुर नगर पालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय भित्र उपयुक्त सिकाई वातावरण सुनिश्चित गर्न प्रतिबद्ध भएर साझेदारी गरिएको हो ।’


‘यस सम्झौताले शिक्षामा प्रतिबद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रूपरेखा प्रस्तुत गर्दछ’, नगर प्रमुख आचार्यले भने, ‘कोहलपुर नगरपालिका विद्यालयको पूर्वाधार विकासका लागि उपयुक्त सिकाइ वातावरण सुनिश्चित गर्न स्रोतसाधन विनियोजन गर्न प्रतिवद्ध छ । साझेदारीले शैक्षिक प्रक्रियामा अभिभावक र समुदायको सक्रिय संलग्नतालाई पनि जोड दिन्छ ।’


नगर प्रमुख आचार्यले दिएको जानकारी अनुसार, केयुले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आफ्नो विशेषज्ञता प्रदान गर्ने छ । त्यसका लागि काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनले निम्न लिखित कार्यका लागि सहमति भै कार्यक्रम सिपिइसी मार्फत कार्यसम्पादन गरिने नगर प्रमुख आचार्यले जानकारी दिए ।

Exit mobile version