सुरु भयो मेयर कप

नेपालगन्जमा सोमबारदेखि छैठौंं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले खेलकुद अनुशासन, संस्कार र बृत्ति विकासको आधार भएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतले सम्बोधन गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले मार्चपास गरेका थिए ।
नेपालगन्ज उपमहानगर–पालिकाको आयोजना एवम् प्याब्सन नेपालगन्जको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिता उद्घाटन अघि आइतबार विहान नगरमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा महिलाहरूले पञ्जेबाजा समेत बजाएका थिए ।
विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित प्रभातफेरिमा नगर प्रमुख विष्ट, शिक्षा महाशाखा प्रमुख थापा लगायत आयोजक, व्यवस्थापक, शिक्षक र सरोकारवाला सहभागी थिए ।
यसैबीच मार्च पासमा सगरमाथा इंग्लिश स्कूल प्रथम, जय बागेश्वरी र जिभिएन द्वितीय र नेरा मावि कण्ठीपुर तृतीय भएको प्याब्सन जिल्ला सदस्य प्रविण गिरीले जानकारी दिए ।

Exit mobile version