देशमा आजः ८ बजे ८ खबर

  1. संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
  2. माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको रिटमा सर्वोच्च अदालतले शुक्रवार महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश गरेको छ। पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि शुक्रवार पेसी तोकिएको थियो ।
  3. ताप्लेजुङमा पाथीभरा मन्दिरमा जान केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा भएको छ। शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए। उनका अनुसार एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै अवरोध गरेको थियो।
  4. दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी रानीमत्तामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
  5. सुनसरीको क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनेर फरार भएका कर्तब्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  6. अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ । स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ ।
  7. मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका मानिसको अंग दान गर्दा सरकारले थप एक लाख रूपैयाँ दिने तयारी गरेको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्रले १ लाख दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले थप एक लाख दिने निर्णय गर्न लागेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
  8. मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।
Exit mobile version