सुधार गृहका लागि कानुन सुधारको सुझाव

जिल्ला सुरक्षा समिति बाँकेले बाल सुधार सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकुल सुधार गर्दै अगाडि बढ्न सुझाव दिएको छ ।

सुरक्षा समितिको बुधबार बसेको बैठकले उमेर पुगेका बालबिज्याईकर्ताहरूलाई समेत एकै ठाउँमा राखिंदा अपराधिक क्रियाकलाप र उदण्डता बढ्दै गएपछि उनीहरूबारे फरक कानुनी दृष्टि बनाउने बारे सुझाव दिएको हो ।

‘सुरक्षाका लागि बन्दुक समेत बोक्न पाउनु पर्ने प्रहरीको मागलाई सुरक्षा समितिले कानुन सुधारका लागि सिफारिस गरेको छ’, सुरक्षा स्रोतका अनुसार, निसशस्त्र प्रहरीलाई उमेर पुगेका बालबिज्याईकर्ताले आक्रमण गर्ने घटना बढ्दै गएपछि प्रहरीलाई हतियार सहित बस्न पाउने व्यवस्था माग गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कार्तिक २६ गते तीन बालबिज्याईकर्ता भागेको घटनामा सुरक्षामा तैनाथहरूको कमजोरी पाइएको भन्दै विभागीय कारवाहीको सिफारिस गर्ने निर्णय पनि गरेको छ । ‘सुरक्षा कमजोरी पाइएको
निष्कर्षका साथ सुरक्षामा खटिएका टोलीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ’, जिल्ला सुरक्षा समितिका अध्यक्ष, प्रजिअ रिजालले दैनिक नेपालगन्जसँग भने ।

‘समयमै मुद्दाको फैसला नहुने, बालबिज्याईकर्ता उमेर नै पुगेको भएपनि बल प्रयोग गर्न नहुने भएकाले पनि उदण्डतामा कमी आएको छैन’, एक प्रहरी अधिकारीले भने, ‘एकातिर सुधार गृहको सही व्यवस्थापन छैन, अर्को तर्फ जे गरे पनि थप कारवाही हुँदैन भन्ने छाप बालबिज्याईमा हुँदा उदण्डताका घटना दोहोरिने गरेका हुन् ।’

फरक उमेर समूहका बालबिज्याईकर्ता एकै ठाउँमा हुँदा एकले अर्कोलाई हेप्ने, सुधार गृहभित्रै लागुऔषध समेत पुग्ने गर्दा पनि सुधार गृहमा तनावका घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

‘अन्तर्राष्ट्रिय सन्धी सम्झौता गर्ने तर त्यसको व्यवहारिक कार्यान्वयनका लागि आवश्यक कमद नचाल्ने प्रवृत्तिले पनि समस्या सिर्जना गरेको छ’, प्रहरी भन्छन् ।

Exit mobile version