सुधार गृहबाट फेरि भागे १२ जना

देबेन्द्र राज पौडेल

बालसुधार गृहमा पुनः बालबिज्याईकर्ताको उदण्डताको घटना दोहोरिएको छ । सुधारगृहमा रहेको बालबिज्याईकर्ताले एक्कासी प्रहरीमाथि आक्रमण गरेर फरार भएपछि बुधबार सय बढी प्रहरी बालबिज्याईकर्ता खोज्न व्यस्त रह्यो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको कमाण्डमा घटना लगत्तै गएको सय बढी प्रहरी टोली फरार खोजिमा जुटेको थियो । ‘१२ जना बालबिज्याईकर्ता सुधार गृहबाट भागेपछि खोजीमा जुटेका थियौं’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘९ जनालाई फेला पार्यौं, थप ३ जनाको खोजी कार्य भैरहेको छ ।’

प्रहरीले सुधार गृहबाट भागेर फेला परेका बालबन्दीलाई बुधबार अबेर रातीसम्म आफ्नै संरक्षणमा राखेका थियो । प्रहरी स्रोतका अनुसार भागेर नभेटिएका बालबन्दी बाँके, दैलेख र कास्की हुन् । भागेका अधिकांस २० बर्ष बढी उमेर समूहको रहेको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार, सुरक्षामा रहेका प्रहरीलाई भातको पनियोले आक्रमण गरी बालबिज्याईकर्ता भागेका थिए । ‘भाग्ने योजना नै बनाएर बालबिज्याईकर्ता फरार हुन खोजेका थिए’, एक प्रहरी अधिकारीले भने, ‘हतियारको प्रयोग गर्न नमिल्ने भएकाले प्रहरीलाई एक्कासी आक्रमण गरेर भागे ।’

यसअघि गत कार्तिक २६ गते पनि ३ जना बालबिज्याई कर्ता नौबस्ताबाट फरार भएका थिए । उनीहरू अझै फेला पर्न सकेका छैनन् । गत बर्ष पुसमा पनि २३ जना बालबिज्याईकर्ता भागेका थिए । जसमध्ये १२ जना सम्पर्कमा आएपनि ११ अझै फरार रहेको बताइन्छ ।

बालसुधार गृहमा नेपाल प्रहरीको सइको कमाण्डमा ३९ जना, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाले सुरक्षा दिन्छन् ।

बाँकेको जयन्दु बाल सुधार गृहमा एकको ज्यानै जाने गरी गत बर्ष असोजमा बालबिज्याईकर्ता बीच झडप भएपछि १८ बर्ष माथि उमेर समूहका बालबिज्याईकर्तालाई राख्न नौबस्तामा अर्को बालसुधार गृह सञ्चालनमा आएको थियो । त्यहाँ पनि पटकपटक झडप र विवादका घटना हुने गरेका छन् ।

Exit mobile version