सहकारी आन्दोलनमा आएको चुनौतीबीच खुलेको नेपालगन्जस्थित, भरोसा बहुउद्देशीय सहकारी संस्थाले बुधवार आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वसहितका कार्य तथा सिर्जनात्मक गतिविधि गरि मनाएको छ ।
भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलका अनुसार, नेपालगन्ज स्थित मानव सेवा आश्रममा खाद्यान्न वितरण कार्यक्रम गरि दोस्रो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको हो । ‘गत वर्षपनि यसरीनै सामाजिक उत्तरदायित्वबोधको कार्यक्रम गरिएको थियो, रावलले आश्रममा खाद्यान्न हस्तान्तरण गर्दै भने ।
भरोसाको दोश्रो बार्षिकोत्सवसँगै तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजिक ‘सेलिब्रेसन’ कार्यक्रममा संस्थापक शेयर सदस्य, कर्मचारीहरूबीच प्रमुख कार्यकारी अधिकृत रावलले सदस्यबाट निरन्तर बढ्दो विश्वास, साथ र सहयोगले संस्था अगाडी बढिरहेको बताए । ‘सहकारीहरूप्रतिको नकरात्मक अवस्थामा समेत हामीलाई विश्वास र भरोसा गर्नु भएको यो अवस्थाले दैनिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ अघिल्लो वर्षको कारोबार, शेयर पूँजी र शेयर सदस्य संख्या दोब्बर भएको जानकारी दिंदै रावलले भने ।
‘थप सदस्यता विस्तारमा अगाडी बढेका छौं,’ सहकारीप्रतिको विश्वास वृद्धि गराउनुनै संस्थाको अभियान भएको धारणा राख्दै रावलले भने, ‘बजारमा चुनौती पक्कै पनि छ तर, यसलाई अवसरका रूपमा लिएर अगाडी बढिरहेका छौं ।’
प्रमुख कार्यकारी अधिकृत रावलले अघिल्लो वर्षका एक हजार पाँचसय खाता यो वर्ष ३ हजार ५ सय पुगेको जानकारी दिंदै भरोसाले वित्तिय कारोबारलाई सिधै प्रविधिसँग जोडेको बताए । ‘जसले गर्दा हाम्रा सदस्यहरूलाई हामीसँग कारोबार गर्न र विश्वास गर्न एकदमै सहज बनाएको हामीले पाएका छौं,’ प्रमुख कार्यकारी अधिकृत रावलले भने, ‘ उहाँहरू हामीसँग प्रत्यक्ष कारोबार गरिरहनु भएको छ ।’ भरोसाले कृषि तथा उत्पादनशील क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको रावलले बताए ।