हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ ।
उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छभने मानवीय क्षति पनि हुने गरेको छ । अहिले दैनिकजसो नै आगलागीका घटना दोहोरिँदै आएको छ ।
प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौँ, भक्तपुर र पर्वतमा आगलागीका घटना भएको छ । आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको छ । आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।