प्याब्सन बाँकेको अधिवेशन लम्बिएको छ । निर्धारित पद भन्दा बढी आकांक्षी भएपछि सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया लम्ब्याइएको छ ।
शनिबार औपचारिक प्रक्रिया पछि हुने भनिएको निर्वाचन प्रक्रिया आज आइतबार २ बजेसम्मका लागि बढाइएको छ । ‘आइतबार सहमति खोज्ने अन्तिम प्रयास हुनेछ, सहमति नभए निर्वाचन प्रक्रिया मार्फत आगामी कार्यकालका लागि मतदान हुनेछ’, प्याब्सन कार्यसमिति सदस्यले भने ।
‘बाँके एजुकेशन हबका रुपमा अघि बढ्नु पर्छ’
प्याब्सन अब बाँकेलाई एजुकेशन हबका रूपमा विकास गर्न तर्फ अगाडि बढ्नु पर्ने प्याब्सनका केन्द्रीय अध्यक्ष ढिके ढुंगानाले बताएका छन् । शनिबार नेपालगन्जमा आयोजित प्याब्सनको ३४औं साधारणसभा र १६ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले पश्चिमको केन्द्र बाँके एजुकेशन हबका रूपमा अघि बढ्नु पर्ने र त्यसका लागि प्याब्सन अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।
विद्यार्थी पलायन रोक्नका लागि गाउँ तहसम्मै प्याब्सन आवद्ध विद्यालय तयार रहनु पर्ने अध्यक्ष ढुंगानाको भनाइ थियो । ‘अबको चुनौति भनेको विद्यार्थी मैत्री कक्षाकोठा, समयसापेक्ष प्रविधिको उपलब्धता र शिक्षक तथा कर्मचारी टिकाउन उनीहरूको भविष्य सुनिश्चित गर्नु हो’, अध्यक्ष ढुंगानाले प्याब्सन सम्बद्ध विद्यालय सञ्चालकहरूलाई सम्बोधन गर्दै भने, ‘राम्रो भवनले मात्रै हुँदैन, गुणस्तरीय शिक्षक कर्मचारी टिकाउनु पर्छ, विद्यार्थी मैत्री वातावरण कक्षाकोठामै तयार हुनुपर्छ ।’ उनले कार्यरत शिक्षक, कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दा त्यसले स्थायित्व हुने बताए ।
अध्यक्ष ढुंगानाले प्याब्सनलाई ब्राण्ड बनाउन र त्यो ब्राण्डमा गर्व गर्ने हिसाबले मापदण्ड निर्धारण गर्ने तयारी भैरहेको बताए । ‘प्याब्सन डिजिटलाइज गरेका छौं, प्याब्सन आबद्ध विद्यालयका लागि निश्चित मापदण्ड बनाउन कार्यदल बनाउने तयारी छ’, अध्यक्ष ढुंगानाले भने, ‘अब परम्परागत ढंगले भवन र पूर्वाधार देखाएर मात्रै हुँदैन, प्रविधि र गुणस्तरपनि भित्र्याउन लगानी गर्नुपर्छ ।’ उनले प्याब्सन ब्राण्ड बनाउने र प्रत्येक विद्यालय, कर्मचारी, शिक्षक, विद्यार्थीले प्याब्सन आबद्ध विद्यालयमा पढेको, कार्यरत रहेको भन्दा गर्व गर्ने अवस्था बनाउने बताए ।
प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले प्याब्सन बौद्धिक विकास गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताए । ‘शिक्षक, कर्मचारी तथा विद्यालय प्रति स्वयं विद्यालय र प्याब्सन अब जिम्मेवार हुनुपर्छ’, अध्यक्ष ढुंगानाले भने ।
प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले निकै लामो प्रयासपछि शिक्षा ऐन अब पास हुने तयारीमा रहेको उल्लेख गरे । उनले शिक्षा ऐनले मात्रै विद्यालयहरू दीर्घकालीन रूपमा चल्न सक्ने सुनिश्चित नहुने बताए । ‘ऐनले मात्रै विद्यालय संरक्षण हुँदैन, समय अनुसार चल्नुपर्छ’, उनले भने ।
प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी लगायतले बालेको थिए ।