खजुरा गाउँपालिकामा आजदेखि आगामी सोमबारसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गत बर्षको तुलनामा ३ लाख बजेट कटौती गरिएको जानकारी दिइएको थियो । यस बर्ष मेयर कपका लागि कुल १२ लाख ५३ हजार खर्च अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजना र श्री शुक्र माध्यमिक विद्यालयको ब्यवस्थापनमा हुने प्रतियोगिताबारे जानकारी दिंदै गाउँपालिकाका अध्यक्ष डम्मर विक तुफानले खजुरामा रहेका खेल पूर्वाधारको प्रयोगको वातावरण तयार गर्न लागेको बताए । उनले विद्यालयका खेल मैदानमा हुने प्रतियोगिता अब पालिकामा रहेका खेल मैदान गर्न जोड दिएको बताए ।
खजुरा गाउँपालिकामा विविध जातजाति धर्मावलम्बी र साँस्कृतिक पहिचान र सद्भाव कायम गर्न प्रतिकको रूपमा सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरूको अंकित गरिएको छ ।
त्यसैगरी प्रतियोगितामा किरन खोलामा पाइने गोहीको प्रतिक चिन्ह मस्कटको रूपमा राखिएको बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर खजुरा गाउँपालिकाका अध्यक्ष तुफानले जानकारी दिएका छन् ।
सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तह कक्षा (९–१२) प्रतियोगिता अन्तरगत जम्मा १५ खेल रहने छ भने आधारभूत तह कक्षा (६– ८) प्रतियोगिता अन्तरगत जम्मा १० खेल हुनेछ ।
प्रतियोगिता शुक्र भलिबल स्टेडियम सितापुरमा संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।