माघ २४ देखि २६ गतेसम्म नेपालगन्जमा आयोजना हुने ‘नेपालगन्ज साइकल फेष्टिबल २०२५’ को तयारीमा आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका पदाधिकारीले लुम्बिनी प्रदेश सरकारसँग साझेदारी प्रस्ताव गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको फेष्टिबल अन्तर्गत टुर दि ठाकुरद्वाराको सातौं संस्करणका क्रममा लुम्बिनी प्रदेश सरकारसँग साझेदारी प्रस्ताव गरिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जलाई प्रवद्र्धनको प्राथमिकतामा राखेको प्रदेश सरकारले टुर दि ठाकुरद्वाराका लागि साझेदारीको प्रतिबद्धता व्यक्त गरेको क्लब अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए । सापकोटाको नेतृत्वमा गएको पदाधिकारीको टोलीले लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौपाने मार्फत सरकारलाई प्रस्तावना पेश गरेका हुन् । ‘मन्त्रीजीले पर्यटन सम्बन्धी कार्यक्रमलाई सरकारले सहयोग गर्दै आएको जानकारी दिंदै नेपालगन्जबाट ठाकुरद्वाराका लागि साइकल यात्राले धार्मिक पर्यापर्यटनको प्रचारमा सकारात्मक भूमिका खेल्ने भएकाले साझेदारीको प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, क्लब अध्यक्ष सापकोटाले मन्त्री सँगको बैठकपछि भने ।
उनका अनुसार, लुम्बिनीका पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री सहित पर्यटन मन्त्रीसँग प्रस्तावका लागि गएको टोलीले आयोजना बारे बिस्तृत जानकारी दिएको थियो ।