‘हाइ अलर्ट’मा सिमा–नाका

नेपाल–भारत सिमा–नाका ‘हाइ अलर्ट’ हुने भएको छ । त्यसका लागि भएको दुई देशका सीमावर्ती सुरक्षा अधिकारीहरूबीचको बैठकले शनिवार समझदारी गरेको हो । सिमा निगरानी बढाउनेदेखि संयुक्त सुरक्षा गस्तीसम्मका गतिविधिहरू यसबीच गरिने बताइएका छन् ।

भारतीय गणतन्त्र दिवस, २६ जनवरीको उत्सव तयारीमा सिंगो देश जुटिरहँदा उत्तरप्रदेशको प्रयागराजमा लाग्दो मकरसंक्रान्तिदेखि ४५ दिनसम्म महाकुम्भ मेला आयोजना हुँदैछ । उत्तरप्रदेश सरकारका लागि दुवै आयोजनाको सुरक्षा जिम्मेवारीमा स्वाभाविक चटारो देखिन्छ ।

नेपालसँग जोडिएको खुला सिमानाका कारण थप सुरक्षा चुनौती हुने आशंकामा सीमावर्ती बाँके र बर्दियाका सुरक्षा अधिकारीहरूबीच भारतीय जिल्ला बहराइचका सुरक्षा अधिकारीहरूले शनिवार सुरक्षा बैठक गरेका हुन् ।

त्यसका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा बाँके र बर्दियाका सुरक्षा अधिकारी नेपाल–भारत सिमास्थित एकीकृत भन्सार जाँचचौकीको भारतीय कार्यालयमा पुगेका थिए । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख, बाँकेका प्रहरी अधिकारी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धानका अधिकारी बैठकमा सहभागी भएका छन् ।

बहराइचका डिएम मोनिका रानीको नेतृत्वमा प्रहरी अधिक्षक रामनयन सिंह सहितका सुरक्षा तथा सिमाक्षेत्रका अधिकारीहरूको सहभागितामा दुई पक्षबीच आपसी सरोकारका सवालमा छलफल गरिएको बताइएको छ ।

‘साँस्कृतिक अस्मिताको प्रतिक महाकुम्भलाई नेपालीहरू पनि उत्तिकै महत्व दिने भएकाले तेस्रो पक्षको घुसपैठमा हामी दुवै देश चनाखो हुनुपर्छ’ नेपाली माटोको प्रयोग अरू कसैले गर्न नपाओस् भन्ने आफ्नो चासो रहेको भन्दै भारतीय सुरक्षा अधिकारीले बैठकमा कुरा राखेका थिए । ‘घुसपैठ नहोस् भन्नेमा भारतको चासो देखिन्छ,’ रूपैडिहाका पत्रकार सन्तोष शुक्लले महाकुम्भ अवधिभर, २६ जनवरी सुरक्षा सतर्कतामा नेपाली सुरक्षा अधिकारीको साथ लिन, सहकार्यका लागि बैठक डाकिएको जानकारी दिंदै भने । पत्रकार शुक्लले नेपाली सुरक्षा अधिकारीहरूलाई महाकुम्भमा निम्तो समेत भारतीय अधिकारीबाट दिइएको बताए ।

नेपाली टोलीको नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले दुबै देशका आ–आफ्ना सरोकारका तमाम मुद्दाहरूमा छलफल गरि साझा सवालहरूमा सहकार्यको समझदारी बनेको बताए । ‘उहाँहरू महाकुम्भ र गणतन्त्र दिवसको उत्सव सुरक्षालाई ध्यानमा राखेर सिमामा निगरानी बढाउने कुरालाई प्राथमिकतामा राख्नु भयो,’ नेपालका तर्फबाट स्वाभाविक रूपमा सुरक्षाका सवालमा सहयोग दिइने जानकारी दिंदै प्रजिअ रिजालले भने, ‘हामीले हाम्रा समस्यामा उहाँहरूको साथ लिनेगरि कुरा राखेका छौं ।’
नेपालले सिमापार अपराध, लागुऔषध ओसारपसार, मानव बेचविखन लगायतका साझा सवालहरूलाई मिलेर न्यूनिकरण गर्नुपर्ने धारणा राखेको थियो । ‘त्यसका लागि आपसी बैठकहरूलाई नियमितता दिनुपर्नेमा दुवै पक्ष सहमत छौं,’ प्रजिअ रिजालले दैनिक नेपालगन्जसँग भने ।
सम्बद्ध स्रोतका अनुसार, बैठकमा भारतीय पक्षले बर्दियातिर वन क्षेत्रमा अतिक्रमण नरोकिएको भन्दै असन्तुष्टि राखेका थिए ।
नेपाली अधिकारीले पनि सिमा पिल्लरमा भारतीय पक्षबाट बेलाबेलामा छेडखानी हुने गरेको गुनासो राखेका थिए ।

Exit mobile version