नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

नेपालगन्जमा विभिन्न कार्यक्रम गरि ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राजनीतिक रूपमा राप्रपा, राप्रपा नेपाल, विद्वत परिषद्, शिव सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाए भने, विभिन्न सामाजिक संघसंस्थाहरूले पनि राष्ट्रिय एकता दिवस मनाएका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पारेर राजावादीहरूले चोकमा शालिक राख्न सक्ने भन्दै शनिवार विभिन्न चोक चौराहमा कडा सुरक्षा घेरा बनाइएको थियो । खासगरि, वीरेन्द्रचोकका रूपमा रहेको धम्बोझीमा सुरक्षा व्यवस्था निकै कडा राखिएको हो ।

राप्रपाले जिल्लाका विभिन्न ठाउँमा पृथ्वी जयन्ती मनाएको जनाएको छ । त्यसक्रममा पार्टी महामन्त्री डा. धवलशमशेर राणाको प्रमुख आतिथ्यमा नेपालगन्जको बागेश्वरी पार्कमा कार्यक्रम गरेको छ । स्वाथ्य अवस्थाका कारण धेरै समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएका डा. राणाले राजतन्त्रको महत्व र राष्ट्र नायकका रूपमा श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको सम्झना गरे ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नन्दलाल वैश्य, विन्दु चर्तिमगर लगायतले सहभागिता जनाएका थिए ।

त्यस्तै, डुडुवा र खजुरा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको राप्रपाले जनाएको छ ।

राप्रपा नेपालले रातीतलाउस्थित आफ्नै कार्यालयमा चियापान कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । सहायक महामन्त्री तेजविक्रम शाह, जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहलगायत कार्यक्रममा उपस्थित थिए ।

शनिवारनै नेपाल विद्वत परिषद्, बाँकेले छुट्टै कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको परिषद्का अध्यक्ष दीपक बहादुर सिंहले जानकारी दिए ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शिव सेनाले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेको थियो ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको भेरी साहित्य समाज केन्द्रीय समितिले नेपाल राष्ट्रनिर्माणका नायक तथा राष्ट्रिय एकीकरण अभियानको सूत्रपातकर्ताका रूपमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको छ । संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतका अनुसार, वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कवि नरेन्द्र देवकोटाको अनुभूति कवितासङ्ग्रहको विमोचन एवं समीक्षा र दौँतरीको २८ औँ अङ्क सार्वजनिक गरिएको थियो ।

नेपाल एकीकरण दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसरमा हरित अभियन्ता हेमन्त राज काफ्लेले सिद्धिबिनायक लायन्स पार्क राँझामा वर र पिपलका बिरुवा रोपेका छन् ।

पर्यावरण संरक्षण र ऐतिहासिक महत्वलाई जोगाउँदै सचेतनाका लागि वर पिपल वृक्षारोपण कार्यक्रम गरिएको काफ्लेले बताए ।

Exit mobile version