नेपालगन्ज दशकौं पुरानो सहर हो । सहरीकरण हुँदै जाँदा भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनमा ख्याल नै राखिएन । जब भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन निर्माण संहिता लागु भयो त्यसपछि नयाँ घरहरू मापदण्ड अनुसार नै छन् । तर, पुराना भौतिक संरचना भुकम्प आएमा धराप साबित हुने निश्चित नै छ ।
विगतमा भुकम्पले ठूलो क्षति पुर्याएपछि सरकारी स्थलमा बन्ने संरचनाहरू भने भुकम्प प्रतिरोधी बनाउने गरिएको छ । तर, व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पनि पाइने सम्बद्धहरू बताउँछन् ।
पश्चिम नेपालमा भुकम्प गएमा ठूलो जनधनको क्षति हुने आंकल गर्दै तथ्यांकहरू सार्वजनिक हुँदै आएका छन् । बाँके भुकम्पीय जोखिममा रहेको जिल्ला हो । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भुकम्पीय जोखिममा रहेका छ ।
नेपालगन्जमा भुकम्प गए हुनसक्ने क्षति र पूर्व तयारीबारे अध्ययन भएको छ । सुपर परियोजनाले नेपालगन्जमा वस्तु स्थिति अध्ययन गरी गरेको अनुसन्धानका क्रममा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २ सय १८ घर पूर्ण रूपमा क्षति हुने अनुमान गरेको छ । त्यस्तै, ८.६ रेक्टर स्केलको भुकम्प गएमा ३ हजार घरहरूमा क्षतिपुग्न सक्ने प्रक्षेपण गरिएको छ । परियोजनाको अध्ययन अनुसार, नेपालगन्जमा मात्रै ११ हजार ८ सय जना भन्दा बढी मानिसहरू विपद्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ ।
सुपर परियोजनाले भु्कम्पनको प्रभाव, पूर्व तयारी र स्रोत विकासका लागि पूर्व तयारी योजना बनाउन दोस्रो फेजको अध्ययन सुरु गरेको सुपर परियोजनाका रूपन ज्ञवालीले जानकारी दिएका छन् । ‘अध्ययन, अनुसन्धान गत जनवरीदेखि सुरु भएको जुन नेपालगन्जका सबै वडामा हुनेछन्’, उनले भने, ‘जोडिएका वडाहरूमा पनि अध्ययन गर्ने योजना छ ।’ भुकम्प आइहाले हुने क्षतिको पूर्वानुमान र त्यसको व्यवस्थापनको पूर्व तयारी भए भुकम्पका बेला प्रभावकारी काम गर्न सकिने ज्ञवाली बताउँछन् ।