बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको घटनामा उचित क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्गको अगैयामा सडक अवरुद्ध गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका आफन्त र स्थानीयले क्षतिपूर्तिमा रकममा सहमति हुन नसकेपछि सडक अवरुद्ध पारिएको हो ।
नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले बिहीबार पनि दिनभर सडक अवरुद्ध गरेका थिए ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो ।