नेपालगन्जमा ‘सेयर बजारमा मेरो पहिलो पाइला’

नयाँ पुस्ताका लागि शेयर बजारको जानकारी दिन र उनीहरूलाई बजारसँग जोडेर आर्थिक प्रगतिका लागि सहयोग पुर्याउने उद्देश्यका साथ त्यसबारे जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ ।
शुक्रबार खासगरी युवा पुस्ता लक्षित गरी शेयर बजारबारे नेपालगन्जमा रहेको एनवाइएफ नेपालगन्ज च्याप्टरले ‘सेयर बजारमा मेरो पहिलो पाइला’ आयोजना गरेको हो ।

नेपाली पैसा र स्मार्ट वेल्थ प्रोसँगको सहकार्यमा भएको कार्यक्रममा नेपालगन्जका विभिन्न व्यवसायी, ब्राइटल्याण्ड कलेजका विद्यार्थी, र एनवाइएफका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएको आयोजकले जानकारी दिए ।

कार्यक्रममा सेयर बजारका विशेषज्ञ मेरिना महर्जन, रोजिना श्रेष्ठ, र अन्य प्रशिक्षकहरूको नेतृत्वमा सहभागीहरूले सेयर बजारका आधारभूत जानकारी, ट्रेडिङ रणनीति, र बजारका प्रविधिहरूबारे ज्ञान हासिल गरेका थिए ।

आयोजकका अनुसार, सहभागीहरूलाई स्टक मार्केटमा पहिलो कदम चाल्न आवश्यक पर्ने सीप र जानकारी उपलब्ध गराइएको थियो ।

कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले भने, ‘हामीले डिम्याट खाता त खोलेका थियौँ, तर कुन कम्पनीमा सेयर लगानी गर्ने, कसरी गर्ने, र कति सेयर लगानी गर्दा उपयुक्त हुन्छ भन्ने स्पष्ट थाहा थिएन, तालिमले यी सबै प्रश्नहरूको उत्तर दिन सहयोग पु¥यायो ।’

तालिममा सहभागी विद्यार्थीहरूले आगामी दिनमा यसखालका आयोजनालाई एडभान्स लेभलसम्म विस्तार गरी आफुहरूलाई सहभागी गराउन अनुरोध गरेका थिए ।

सेयर बजारकी विशेषज्ञ रोजिना श्रेष्ठले सहभागीहरूको जिज्ञासाको उत्तर दिँदै भनिन्, ‘हामीसँग ‘स्मार्ट वेल्थ प्रो’ नामको वेबसाइट छ । यसमा विभिन्न कम्पनीहरूको आर्थिक स्थिति, नाफा–नोक्सान, र ब्रोकरहरूसँग सम्पर्क गर्ने विवरणहरू उपलब्ध छन् । सहभागीहरूले यस प्लेटफर्मबाट आफ्नो लगानीका लागि सही निर्णय गर्न सहज हुनेछ ।’

आयोजक एनवाइएफ नेपालगन्ज च्याप्टरका भाइस प्रेसिडेन्ट अर्शद कमल सिद्दिकीले शेयर बजारमा नयाँ पुस्ताको प्रवेशका लागि सहज बाटो बनाउन आधारभूत तालिम आयोजना गरिएको बताए ।

‘हामी यसलाई आगामी दिनमा एडभान्स लेभलसम्म विस्तार गर्ने योजना बनाइरहेका छौँ’, भाइस प्रेसिडेन्ट सिद्दिकीले दैनिक नेपालगन्जसँग भने,
‘यस खालका तालिमले नेपालगन्जका व्यवसायी र विद्यार्थीहरूलाई सेयर बजारबारे थप ज्ञान र आत्मविश्वास प्रदान गर्न ठूलो भूमिका खेल्नेछ  भन्ने हाम्रो विश्वास हो ।’

नेपालमा पछिल्लो समय स्टक मार्केटप्रति युवाहरूको रुचि र चासो
बढ्दो छ । तर, बजारमा देखिने उतार–चढाव र लगानीका जोखिमका कारण धेरैले थप मार्गदर्शन र तालिमको आवश्यकता महसुस गरेका छन् ।

कार्यक्रमका सहभागीहरूले बजारको दैनिक उतारचढाव, सही लगानी रणनीति, र दीर्घकालीन सोचको महत्वबारे पनि छलफल गरेका थिए । यस तालिमले नेपालगन्जका व्यवसायी र विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै, आर्थिक सशक्तीकरणको दिशामा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरुको प्रतिक्रिया थियो । एनवाइएफ नेपालगन्ज च्याप्टरले युवा उद्यमी बिस्तारका लागि विभिन्न सिर्जनात्मक कार्यक्रम
आयोजना गर्दै आएको छ ।

Exit mobile version