मनाइयो भन्सार दिवस

हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । त्यसक्रममा नेपालगन्ज भन्सार कार्यालयले पनि औपचारिक रूपमा आइतबार भन्सार दिवस मनाएको छ ।

७३औं भन्सार दिवसको अवसरमा विविध कार्यक्रम गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । आइतबार औपचारिक कार्यक्रममा नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले भन्सार शिक्षामा आफुहरूको जोड रहेको बताएका थिए । ‘त्यसका लागि हामीले नेपाली र हिन्दी भाषामा जिंगल समेत बनाएका छौं’, उनले भने, ‘भन्सार छल्नु गैर कानुनी हो र भन्सार राजश्व तिरेर मात्रै मालसामान भित्र्याउनु पर्छ भन्ने सन्देश हामीले जिंगल मार्फत दिने योजना बनाएका छौं ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भन्सारको प्रक्रिया सहज बनाउनका लागि दुई देशका भन्सार अधिकारी बीच छलफल आयोजना गर्ने तयारी गरिरहेको बताए । ‘भन्सारमा हुने समस्या सम्बोधनका लागि नेपाल–भारत दुवै देशका भन्सार अधिकारी सम्मिलित योजना बनाउँदैछौं ।’

प्रमुख जिल्ला अधिकारीले बाँकेमा ६५ किलोमिटर खुला सीमा रहेकाले भन्सार राजश्व असुली चुनौति भएको बताए । उनले भारत र नेपालमा पर्ने मूल्यको अन्तरले पनि तस्करीका गुनासोहरू आउने गरेको बताए । ‘मालसामान आयातमा भन्सार राजश्वको पुनमूल्यांकन आवश्यकछ’, उनले भने, ‘त्यसका लागि हामीले सम्बन्धित निकायलाई यसअघि सुझाव दिइसकेका छौं ।’

कार्यक्रममा भारत तर्फका डेपुटी कष्टम अधिकारी नन्देश्वर सिंहले भन्सारमा रहेका समस्या सेवाप्रवाह हुने स्थानबाटै हुनुपर्ने बताए । ‘हाम्रो तहसम्म भन्सारका समस्या आउनु नै हुँदैन’, उनले भने, ‘भारतको नीति आयात–निर्यात सहजीकरण छ, त्यसका लागि हामी प्रतिबद्ध छौं, आगामी दिनमा नेपाल तर्फको भन्सारमा हुने छलफलमा सहभागी ई उठेका समस्याको सम्बोधन गर्छौ ।’

कार्यक्रममा सरकारी तथा गैर सरकारी संघ, संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम बीच भन्सार दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको
थियो ।

Exit mobile version