नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)को आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नेपालगन्जका कानुन व्यवसायी, अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीले बार काउन्सिलका स्थायी संरचनालाईं प्रदेश स्तरमै ल्याउनु पर्ने बताएका छन् ।
माघ २६ गते शनिबार हुने बार काउन्सिलको निर्वाचनमा लुम्बिनी प्रदेशबाट परिषद् सदस्य पार्षद् पदमा उम्मेदवारी दिएका अधिवक्ता ज्ञवालीले सोमबार नेपालगन्जका पत्रकारहरूसँग भेटघाट गर्दै आफ्ना एजेण्डा सार्वजनिक गरेका हुन् ।
‘मुलुक संघीय संरचनामा गएको यत्तिकै बर्ष हुँदा पनि अझै बार काउन्सिलका स्थायी संरचना प्रदेशमा आउन सकेको छैन’, आफ्ना एजेण्डा सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा अधिवक्ता ज्ञवालीले अस्थायी रूपमा सुरु भएको यो प्रयासलाई स्थायी रूपमै संस्थागत कुरामा मेरो दृढता रहनेछ ।’
कार्यक्रममा प्रदेश प्रचार प्रमुख, वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेका थिए ।
डिएलएका प्रल्हाद बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अधिवक्ता बल बहादुर चन्दले गरेका थिए ।
पत्रकारहरू बीच अधिवक्ता ज्ञवालीले सम्पूर्ण कानुनी शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा क्याम्पसहरूले पूरा गर्नुपर्ने न्यूनतम शिक्षा नीति पूरा गर्न मापदण्ड निर्धारण गर्न पहल लिने देखि नवोदित कानुन व्यवसायीहरूका लागि ल फर्म स्थापना गर्न सापटी सुविधा कोष, कानुन व्यवसायी कल्याणकारी कोष, कानुन व्यवसायी सञ्चित कोष स्थापना लगायतका लागि पहल गर्नेसम्मका दर्जन बढी प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
लुम्बिनी प्रदेशबाट डिएलएका ज्ञवालीसँगै वाम उम्मेदवारका रूपमा रूपन्देहीका अधिवक्ता मदन कुमार पुन, काउन्सिलका लागि उम्मेदवार छन् । प्रत्येक प्रदेशबाट एक जना निर्वाचित हुने व्यवस्था अनुसार माघ २६ गते निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा मात्रै ८ सय बढी मतदाता कानुन व्यवसायीले एक जना प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था छ । जसअनुसार बाँके र बर्दियाका कानुन व्यवसायीले नेपालगन्जमा मतदान गर्नेछन् ।