पत्रकारिताका युगपुरुष पन्ना चाचाजी

समाजलाई सत्मार्गमा डोर्याउना र नागरिक स्वतन्त्रताको लागि जस्तो सुकै कठिन बाटो अपनाउन परे सधै अग्रसर रहिरहने पत्रकार हुनुहुन्थ्यो पन्नालाल गुप्ता अर्थात् “चाचाजी”जसलाई सही मानेमा समाज को धरोहर भन्नुपर्छ ।

चाचाजी जीवनमा आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिले कसैसंग कुनै सम्झौता गरेनन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको उहाँ सभापति (बिक्रम सम्बत २०५६–२०५८ )मा हुँदा त्यो कार्यसमितिको सचिव म थिएँ ।

तत्कालिन समयमा पत्रकारिता पेशा अत्यन्त मर्यादित र सम्मानित मान्निथ्यो साथै अग्रजहरुको सत्य,निष्ठा र इमान्दारिताको प्रभाव सबैलाई परे कै थियो । चाचाजीलाई पच्छाउदै कैयौे युवाहरु पत्रकारिता पेशामा आए, लोकतान्त्रिक आन्दोलनको अगुवा भएर नेतृत्व पंक्तिमा उभिने चाचाजी सही मानेमा उहाँ युगपुरुष नै हुनुहुन्थ्यो ।

चाचाजी संगमा आफू माध्यमिक तहको अध्ययन मै रहँदा उहाँसंग भेट हुने र सानिध्य पाउने अवसर पाएको थिएँ । म अध्ययनको लागि महेन्द्र माध्यमिक बिद्यालय पुगें दैनिक जाने बाटो मंै चाचाजीको निवास पथ्र्यो चाचाजीले त्यहि संचालन गरेको छापाखाना, पत्रिका प्रकाशनको कार्यलाई धेरै नजिकबाट जान्ने अवलोकन गर्ने मौका पाएँ । म उहाँको कार्यसमितिको सचिव भएर एक बर्ष जाति काम गरें । बाँकी अवधि आफ्नो पत्रकरिता पेशाका कारण नेपालगन्ज छोड्नु परेपछि पूर्ण अवधि भर साथ दिन् पाएन । बाँकी कार्यकालको समन्वय सहकर्मी मित्र झलक गैरेजीले गर्नु भयो ।

हामी माथि चाचाजीको अभिभावकत्व र अपनत्व संधै नै रहिरहयो । परिस्थितिबस मैले पूर्णसमय उहाँको सभापतित्वको कार्यकालमा साथ दिन नपाएकोमा अहिले पनि सम्झेर पछुतो मान्ने गर्छु । उहाँ संधै इमान्दारिताका साथ समाज र राष्ट्र हितका लागि मिसन पत्रकारितामा लाग्नु भयो ।

बिक्रम सम्बत २०३१ सालमा किरण साप्ताहिक दर्ता गरेर जीवन पर्यन्त सम्पादकको रुपमा जुन सक्रियता उहाँले देखाउनु भयो त्यो लगन र निष्ठा आजको युवाको लागि प्रेरणाको श्रोत हो ।

उमेरले नौ दशक काटिसकेको अवस्थामा पनि पत्रिका प्रकाशन हुनु अघि सम्पादकीय र अन्तिम कपि हेर्ने गर्नु हुन्थ्यो । एउटा साइकिल हातमा अनि आँखामा चस्मा दुब्लो शरीर माथि खादी कपडाको पहिरनमा कहिले थाकेको देखिएन चाचाजी । संचारकर्मीको रुपमा उहाँको सक्रियता हामी सबैलाई उत्साहित गर्ने श्रोत थियो । चाचाजीको चिन्तनका प्रमुख तत्वहरुमा सदाचार, लोकतान्त्रिक परिवेस, समावेशीकरण नै थियो र यसैका लागि उहाँ प्रयन्तशील रहनु हुन्थ्यो । राजनीतिमा राम्रै दखल राख्ने चाचाजी आफ्ना समकक्षी राजनीतिककर्मीहरुसंग कहिले पनि कसैको ढोकामा उमेर पद, पैसा, सम्मान वा मर्यादाको याचना गर्नु भएन ।

बि.स.२००७ सालमा प्रजातन्त्र आए देखिनै पत्रकारितामा सक्रिय चाचाजी २०१७ सालमा पञ्चायत आएपछि थुनामा पनि पर्नु भयो । चाचाजीले पत्रकारितामा पुर्याउनु भएको योगदानको मूल्याङ्कन गर्दै प्रेस स्वतन्त्रता सेनानी सम्मान र गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको थियो । उहाँ नेपाली र हिन्दी दुबै भाषामा पुरा दखल राख्नु भएकोले आफ्नो लेखनमा व्याकरण, हिज्जे, भाषा जस्ता कुराहरुमा अत्यन्तै संबेदनशील रहनु हुन्थ्यो ।

नेपालगन्ज बजारको रानीतलाउ देखि त्रिभुवन चोकसम्म कैयो छापाखाना थिए । यहि क्षेत्रमा पुस्तक बिक्री हुने पत्रिका प्रकाशन हुने मुख्य थलो नै थियो र चाचाजीको निवास पनि यही क्षेत्र मै थियो ।

चाचाजीले २०११ सालमा नेपालगन्जमै हिन्दी भाषाको पत्रिका अनुराधा स्थापना भएपछि त्यसैमा काम गर्न थालेका थिए । पन्नालाल गुप्तालाई पुरै नेपालगन्ज नगरका बासिन्दाले श्रद्धाले ‘चाचाजी’ भन्ने गरेका थिए । यो नै समाजले दिएको सबैभन्दा ठुलो सम्मान र पदवी हो । तत्कालिन पञ्चायती व्यवस्थाको शुरुआतसँगै भने दुःखका दिन शुरु भएको थियो चाचाजीको समाचार लेख्दा पटक–पटक मुद्दा झेले । एकपटक ‘श्री ५ को सरकार’ को सट्टा ‘श्री ५ सरकार’ लेखिएको पत्रिका बजार गएपछि उहाँ थुनामा पर्नु परेको थियो ।

त्यस्तै राजाको विरोध गरेको समाचार लेख्दा सात वर्ष राजद्रोहको मुद्दा पनि खेप्नु परेको थियो । यस्ता घटनाहरु जसमा चरम मानसिक यातना भोग्नुपरेको स्मरण उहाँले हामीलाई कति हो कति सुनाई राख्नु हुन्थ्यो जसको फेहरिस्त बहुत लामो हुन जान्छ । पत्रकारिताको कारणले यातना पाए पनि उहाँ कहिले पनि आफ्नो पेशाबाट बिचलित हुनु भएन, पेशागत जुझारुपनबाट कहिल्यै पनि भाग्नु भएन ।

पत्रकारिताका दौरानमा निकै आरोह–अवरोह झेलेका पन्नालाल गुप्ताले २०३३ सालदेखि प्रजातन्त्रका पक्षमा र पञ्चायतका विरुद्धमा आक्रामक तरिकाले लेख्न थालेको बताउनु हुन्थ्यो । उहाँले आफ्नो किरण साप्ताहिकमा ‘शासकलाई जनताका सामु उभ्याउनु पर्छ’ भन्ने बर्दिया मैनापोखरबाट आएको पाठकपत्र प्रकाशित गरेपछि २०३५ सालमा तत्कालिन प्रशासनले उनलाई पक्राउ गरी जेल यातना दिएको थियो । ‘पञ्चायत विरोधी पत्रिका प्रकाशित गरेको भन्दै प्रशासनले पक्राउ गर्यो, राजद्रोहको मुद्दा लगायो । नेपालगन्जबाट काठमाडौं पठाइयो, सूचना मन्त्रालयमा हाजिर गरायो । तत्कालिन शासनले जाति दुख दिएपनि जनताको पक्षमा कलम चलाउन कहिले डगमगाउनु भएन चाचाजी ।

नेपाली पत्रकारिताको ईतिहासमा सबै भन्दा उच्चा सम्मान प्रेस स्वतन्त्रता सेनानीको उपाधी पाए पनि उहाँ पत्रकारितालाई ‘डेमोक्रेसीको मिशनको रुपमा नै रहनु पर्नेमा संधै अडिग रहनु भयो । उहाँलाई नेपाली पत्रकारितामा योगदान गरे वापत गोपालदास पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी लगायत राष्ट्रिय स्तरका एक दर्जनभन्दा बढी पुरस्कारबाट सम्मानित गरिएको थियो । नेपाली पत्रकारिताका धरोहर ‘चाचाजी’ को ९२ वर्षको उमेरमा नेपालगन्जमा निधन भएको थियो । उनको पत्रिकारिता क्षेत्रको योगदानको उचित कदरका लागि स्थानीय सरोकारवाला निकायले स्मरण गराउने प्रतिष्ठान बनाउनुपर्ने हो । समाजको एक सच्चा पहरेदार, जनभावनाको पक्षमा सधै उभिने ब्यक्तित्वको सम्मानमा समाज,राष्ट्र र हामी कुनै पनि दृष्टिकोण बाट पछि पर्नु हुँदैन । (चाचाजीका स्मृतिमा प्रकाशित)

Exit mobile version