कोहलपुरलाई लिजामा उत्कृष्ट अंक

बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो ।

कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा कोहलपुर नगरपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो । आर्थिक वर्ष २०७९/०८० मा ८७.७५ प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सागर चौधरीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाले गत आर्थिक वर्ष ०७८/०७९ मा ७९ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७/०७८ मा केवल ४७.७६ प्रतिशत अंकमात्रै हासिल गरेको थियो । 

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ । समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तिय तथा आर्थिक व्यवस्थापनमा कोहलपुर नगरपालिकाले ११ मा ११ अंकनै हासिल गरेको छ । 

जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए । ‘संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतीलाई कार्यान्वयन गर्नु हो । अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो । सुशासन, पारदर्शीता र जवाफदेहितामा हामी जनप्र्रतिनिधि पनि निर्मम बनेर कसिएकाले यो परिणाम आएको हो’–नगर प्रमुख आचार्यले भने । 

आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको छ । इन्धनमा हुने कुपन प्रणाली खारेज गरिएको छ । काटेशेनलाई निरुत्साहित गरिएको छ । ‘निर्वाचित भएर आएदेखि नै यसलाई संस्थागत बनाएका छौं । तेलमा हुने कुपन प्रणाली खारेज गरिएको छ । हाम्रा हरेक निर्णयहरु सार्वजनिक गर्ने गरिएको छ । नगरपालिकाको आफ्नै फेसबुक पेज छ । त्यसमार्फत् कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना । सबै सार्वजनिक गर्ने गरेका छौं । हामी निर्वाचित भएर आएपछि कोटेशन खारेज गरेका छौं । कोटेशन शुन्य हुने कोहलपुर नगरपालिका देशभरकै पहिलो स्थानीय तहनै होला भन्ने मलाई लागेको छ । कोटेशनबाट कार्यक्रम होस् वा ठेक्कापट्टा दिँदा त्यसले आर्थिक पारदर्शीता देखिएन । आफुअनुकूलका र नजिकका मान्छेहरु मात्र समेटिने र कार्यक्रमको प्रभावकारीता पनि नहुने भएकाले कोटेशन प्रणाली खारेज गरेर टेण्डर प्रक्रिया अवलम्वन गरिएको छ’–संस्थागत सुधारका अध्यास सुनाउँदै उनी भन्छन् । 

नगर उपप्रमुख संगिता सुवेदीले पालिका सुशासन, पारदर्शी र जवाफदेहि ढंगबाट चलेको सन्देश लिजामा देखिएको अंकले दिएको बताइन् । उनले जनताको आवश्यकता र प्राथमिकतालाई बुझेर लैजाने पालिकाको सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजाने प्रतिबद्धता समेत जनाइन् ।

Exit mobile version