भेरी अस्पतालमा प्रशासनको छड्के : डिउटी समयमा अनुपस्थित चिकित्सक

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भेरी अस्पतालको सेवा प्रवाहको बिषयमा बुधवार छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा ओपिडीमा काम गर्ने कतिपय डाक्टर कार्यकक्ष बाहिर रहेको पाईएको अनुगमन टोलीले जनाएका छन् ।

अनुगमनका क्रममा कर्मचारीको हाजिरी अद्यावधिक नरहेको, कर्मचारीले लामो समयसम्म पनि हाजिरी नगरेको, कर्मचारीको डिउटी समय तालिका उपलब्ध नगराउने गरेको, खाजा समय भन्दै कार्यकक्षमा लामो समय अनुपस्थित हुने गरेको, सेवाग्राहीको भिड ब्यवस्था नगरेको, समयमा टिउटीमा उपस्थित नभएको पाइएको अनुगनको नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

अनुगमनका क्रममा धेरै कमीकमजोरी पाईए पछि टोलीले कर्मचारीको हाजिरी अद्यावधिक गर्ने, समयमै हाजिक गर्ने, डिउटी समय तालिका निर्धारण गर्ने, सेवाप्रवाहलाई असर नपर्ने गरि पालो मिलाएर मात्र खाजा खान जाने ब्यवस्था मिलाउने लगायतका निर्देशन दिएको सहायक प्रजिअ खत्रीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतम, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु प्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय बाँकेका नासु दिपशरण बुढाथोकी, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ पत्रकारहरू रुद्र सुवेदी, सिराज खान र जयपति ढकाल लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष समेत रहेका अधिवक्ता बसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकोले अस्पतालको सेवा प्रवाहमा नागरिकको सहज पहुँच र गुणस्तर हुनु पर्ने बताए ।

अनुगमनका क्रममा अस्पतालको इमजेन्सीका वार्डमा काम गर्ने कर्मचारी समेत आफ्नो डिउटी समयमा उपस्थित नहुने गरेको, कार्यकक्ष बाहिर जाँदा रेकर्ड राख्ने नगरिएको, कतिपय कर्मचारी बाहिर जाँदा सम्बन्धित बिभाग र वार्डका इन्चार्जहरूलाई जानकारी नगराई आफु खुसी बाहिरिने समस्या देखिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा नियमति हाजिर अभिलेख रजिष्टरमा हाजिर व्यवस्थित नभएको, बिदा र कागजमा गएका कर्मचारीले बिदा र काजको विवरण नजनाएको र कार्यालय समयमा केही कर्मचारी उपस्थिति नभएको पाइएको अनुगमन टोलीका प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

अनुगमन टोलीले अस्पतालको सेवालाई गुणस्तरिय बनाई स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचका बिषयमा अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट डा.निराजन सुवेदीसंग छलफल गरेको अनुगमनमा संलग्न सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सचिव समेत रहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उनका अनुसार डिउटी समयमा डाक्टर कार्यकक्षमा नभेटिने, अस्पतालमा बिचौलीको प्रवेश रोक्ने, डिउटी आवरमा कर्मचारीले काम गरे नगरेको बिषयमा कार्यालय प्रमुख, सम्बन्धित वार्डको इन्चार्ज निरिक्षण गर्ने, कर्मचारीको डिउटी लिष्ट जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।

अनुगमन टोलीले अस्पताल प्रशासन, ईमरजेन्सी, ओपिडी लगायतका वार्डको अनुगमन गरेको थियो ।

Exit mobile version