सीपका खानी महिला

नेपालगन्ज । पञ्चशीला हस्तकला केन्द्र नेपालगन्ज-१९ शान्तिनगरका महिलाले मुज र काँस (वनस्पति) बाट निर्मित डस्टबिन, हर्केस, टी म्याट, जोइलरी, पेन होल्डरलगायतका सामग्री प्रदर्शनीमा राख्छन् । कहिलेकसो हुने प्रदर्शनीले उनीहरुले निर्माण गरेका सामग्रीको बजारिकणमा सहयोग पुग्छ । उनीहरुले आफ्नै स्थानीय कच्चा पदार्थबाट विभिन्न सिर्जनात्मक घर सजावटका सामग्री निर्माण गर्छन् ।

बजारमा आयातितभन्दा स्थानीय स्वाद पाउन सकिने खालका दालमोठ कुरकुरे, केरा चिप्स मधुवन- ८ बाँसपानी बर्दियाको सिर्जनशील लघु उद्यमकी सुन्दरी जोशीले उत्पादन गर्छिन् । ‘हामीले उत्पादन गरेका दालमोठको माग उपभोक्तामा धेरै छ,’ उक्त संस्थाकी सञ्चालक जोशीले भनिन्, ‘बजारमा मागअनुसार सामान उपलब्ध गराउन सकिएको छैन । मेला महोत्सवमै केन्द्रित छुँ ।’

उनी हाते मेसिनबाट उत्पादन गर्छिन् । जसमा उनले करिब तीन लाख रूपैयाँ लगानी गरेकी छिन् । यसबाट वार्षिक आठदेखि १० लाख रूपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ । एउटा मेला, महोत्सव र प्रदर्शनीबाट करिब दुई/अढाई लाख रूपैयाँ आम्दानी हुने उनी बताउँछिन् । छिपखोला अल्लो कपडा उद्योग सिस्ने-२, रुकुम पूर्वले उत्पादन गरेका अल्लोका कपडा ग्राहकको रोजाइमा छन् । यहाँ स्विटर, टोपीलगायतका सामग्री उत्पादन हुन्छन् । यस उद्योगमा सबै महिला छन् । ‘महिलाहरूले निर्माण गरेर बनाएका कपडा राखेका छौं,’ ती उद्योग सञ्चालक निमा पुनले भनिन्, ‘स्थानीय उत्पादनलाई ग्राहकले मन पराइदिँदा अझ बढी हौसला प्रदान भएको छ ।’

सीप भए पनि कतिपय महिला उद्योगतर्फ आउन नसकेको भन्दै उनले भनिन्, ‘महिला सीपका खानी हुन्, त्यसैले उनीहरूको सीपलाई बजारीकरणसँगै व्यावसायिक बनाउन जरुरी छ ।’ महिलालाई आत्मनिर्भर बनाउन पनि उनीहरूको सीप पहिचान गरी व्यावसायिक बनाउनु आवश्यक रहेको उनले बताइन् । प्रयोगविहीन (खेर गएका) सिसाका बोतलबाट दिव्या टन्डन र बिनी टन्डनले बनाएका स्विट होम डेकोरका सामग्रीले महिलाको सीपलाई थप प्रस्फुटन गरेको छ । उनीहरूले कलात्मक ढंगले आफ्ना सामग्रीलाई सिँगारेका छन् ।

‘तालिमपश्चात् होम डेकोरका सामग्री बनाउन लागेको छु’, दिव्याले भनिन्, ‘बजारमा पाइने आयातितभन्दा हामीले बनाएका सामान बलियो र सुन्दर भएकाले अवलोकनकर्ताको रोजाइमा परेका छन् ।’ यसबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।

सीपले महिलालाई समय व्यवस्थापनमा मात्र होइन उनीहरुलाई आत्मनिर्भर पनि बनाएको छ । उद्यम तथा सीप विकासमा महिलाहरु लागेसँगै उनीहरुको दैनिकी फेरिएको छ । जिम्मेवारीपूर्वक जिम्मेवारी दिने हो भने आफ्नो सीप र क्षमता प्रस्फुटन गर्न सक्छन् भन्ने उदाहरण महिला उद्यमीहरुले देखाएका छन् ।

Exit mobile version