निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले स्थानीय सरकारसँगको सहकार्यमा रोजगार मेला आयोजना गर्ने निश्चित गरेको छ । यसअघि प्रादेशिक मेलामा गर्ने भनिएको मेला प्राविधिक कारण देखाउँदै स्थगित भएपछि यसैसाता फागुन १६ र १७ गते रोजगार मेला निश्चित भएको हो ।
आयोजक संस्था नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका मेला आयोजक व्यवस्थापन समितिका संयोजक भीम बहादुर रानाभाटका अनुसार, बाँकेका आठ वटै स्थानीय तहका रोजगार सेवाकेन्द्र सँगको साझेदारीमा यसैसाता दुई दिने रोजगार मेला हुने भएको छ ।
‘हामी रोजगार प्रदायक उद्योग, प्रतिष्ठानहरूसँग भेटघाट, छलफल र बैठक गरेर रोजगार मेलाको हिस्सा बनिदिन आग्रह सहितको वातावरण निर्माण गरिरहेका छौं’, महासचिव रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘सरकार र निजी क्षेत्रले साझेदारीमा यसखालको आयोजना भएकाले प्रभावकारीहुनेमा ढुक्क छौं ।’
रोजगार व्यवस्थापन उपसमितिले मेला व्यवस्थापन तथा सञ्चालनका लागि पूर्व बैंकर सरोज चौधरीलाई परामर्शदाता नियुक्त गर्ने निर्णय गरेको छ । त्यसबाहेक समितिमा उद्योग वाणिज्य संघका सदस्य, उद्योगपति कमल कार्की, राजिव तलंगा सदस्यका रूपमा सक्रिय छन् भने सदस्य सचिवका रूपमा संघका अधिकृत कुशल गुप्ताले जिम्मेवारी सम्हालेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका रोजगार संयोजक मञ्जु ज्ञवाली, कोहलपुरका संयोजक आशिष बर्मा, नरैनापुरका मकबुल अहमद मुकेरी, खजुराका लोकराज सञ्ज्याल, बैजनाथका अमृत सुनार, जानकीका सीमा चौधरी र राप्तीसोनारी गाउँपालिकाका रोजगार संयोजक माधव डाँगी मेला व्यवस्थापनका लागि समितिमा सक्रिय छन् ।
‘मेलालाई दीर्घकालीन र प्रभावकारी बनाउने प्रयास रहनेछ’, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले भनिन्, ‘देशका विभिन्न सहरमा भए, गरेका अभ्यासलाई अध्ययन गरेर सार्थक आयोजना गर्ने प्रयासमा छौं ।’ ज्ञवालीले शिक्षित र अदक्ष दुवै खालका बेरोजगारका लागि यो आयोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
कोहलपुरका रोजगार संयोजक आशिष गुप्ताले यसखालको सुरुवातले वैदेशिक रोजगार र पलायनको अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास व्यक्त गरे । ‘हामीले आयोजना गर्ने तालिम गोष्ठीहरूलाई रोजगारमूखि ढंगबाट लैजान मेलाले दिशानिर्देश गर्न सक्छ’, उनले भने । बर्माले रोजगारदाता र कामदार बीचको संवादको थालनीले सकारात्मक परिणाम दिनेमा आशावादी भएको बताउँदै भने, ‘वैदेशिक रोजगार बोर्डले दिएका तालिम प्रभावकारी नभैरहेका बेला त्यसका लागि पनि यसले फिडब्याक दिनसक्छ ।’
रोजगार मेला संयोजक रानाभाटले तारे होटलदेखि विभिन्न प्रकृतिका उद्योगहरुसम्म पुगेर रोजगार मेलाबाट सबै पक्षले लाभ लिने वातावरण बनाउन खोजिएको बताए । ‘पालिका प्रमुख र सरोकारवाला व्यक्तिहरुसँगपनि निरन्तर संवाद, भेटघाट गरेर नीतिगत सुधारका लागि पनि वातावरण बनाइरहेका छौं’, संघका महासचिव रानाभाटले भने ।
दुई दिनसम्म चल्ने रोजगार मेलामा रोजगारदाता र कामदार बीच प्रत्यक्ष संवाद देखि नीतिगत तहमा देखिएका समस्या र सम्भावना खोजिका लागि ‘प्यानल डिस्कसन’सम्मका कार्यक्रम तय गरिएको परामर्शदाता सरोज चौधरीले बताए ।