राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : प्रिक्वाटर र क्वाटर हुँदै

नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेकाछन् ।
नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेकाछन् । विहान ८ बजेदेखि जारी खेलमा ५ विधाका ५८ खेल भइरहेको छ ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।
मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार प्रतियागिताको पहिलो दिन पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएर आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु भइरहेकोछ । पाँच वटै विधामा ५८ वटा खेल हुने र उक्त खेलबाट भोली शनिबार हुने सेमिफाईनलका लागि ३२ जना खेलाडी छनोट गरिनेछ ।
मुख्य रेफ्रि कारञ्जितले अगाडी भन्नुभयो–‘सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । आज(शुक्रबार)को खेलबाट छनोट भएका ३२ जना खेलाडीले सेमिफाइनलका १० वटा खेल खेल्नेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी फाईनलका लागि भिड्नेछन् ।’
करिव २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता गरिएसंगै बाँकेमा ब्याटमिन्टनको सम्भावना खोजिदँै छ । प्रतियोगिताको हिजो बिहीबार लुम्बिनी प्रदेश खेलकुद् परिषद्का, सदस्य सचिव जयप्रकाश भट्टराईले एक समारोहकाबीच प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो ।
बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताउनुभयो । तीनदिनसम्म हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।
प्रतियोगितामा अम्पायर ११ जना, लाइनजज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताउनुभयो ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् ।  पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।  

Exit mobile version