बाँकेका असइविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

नेपालगन्ज । प्रहरी चौकी खडैचा बाँकेका प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीले घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो आठ हजार रुपैंयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवानाको सजाय माग गर्दै उक्त आरोपपत्र दायर गरिएको हो ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै उनले यही पुस २५ गते घुस लिएको अख्तियारले जनाएको छ । उनले घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Exit mobile version