विपद् बीमा कार्यान्वयन गर्दै नेपालगन्ज

नेपालगन्ज उपमहानगर–पालिकाले विपद् बीमा कार्यक्रमको अवधारणालाई कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि कार्यविधि समेत बनाइसकेको उपमहानगरपालिकाले कार्यान्वयनका लागि बीमा क्षेत्रका प्रतिनिधिहरूसँग आइतबार दुई पक्षीय छलफल गर्यो । नेपालगन्जमा आइतबार विपद जोखिम विमा कार्यक्रमको कार्यान्वयनका सन्दर्भमा आईतवार छलफल गरिएको हो ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार, बीमा क्षेत्रका जानकार प्रतिनिधिहरूसँग नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधिहरूले यस वर्षदेखि लागू गरेको आवासीय विपद् जोखिम बीमाको कार्यान्वयन पूर्व कार्यक्रमको प्रभावकारिता बारे छलफल गरिएको हो ।
नेपालगन्ज उपमहानगर–पालिकाले यसै वर्ष विपद् जोखिम विमा कार्यविधि २०८० तयार पारी मोडेल प्रोजेक्टको रूपमा बडा नं ३ र ७ बडा अन्तरगतका आवासिय भवनको विमा गर्ने गरि बजेट छुट्याएको छ । छलफलमा विमा कार्यक्रम लागू गर्दा भवन छनौटका आधारहरू, पहिचानकालागि अपनाइने तरिका तथा बीमा कम्पनीहरूले उपलव्ध गराउने सेवा सुविधाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, पूर्वाधार समितिका संयोजक बसन्त कनोजिया, बातावरण तथा विपद समिति संयोजक समिर प्रताप सिंह, दुवै समितिका सदस्य तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘यो कार्यान्वयनसँगै पूर्वाधारको क्षेत्रमा धेरै जोखिम न्यूनीकरण हुन्छ’, पूर्वाधार समितिका संयोजक कनोजियोले भने ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कतिपय कुराहरू कार्यविधिमै सुधार गरेर प्रभावकारी कार्यान्वयनको बाटो खोलिने बताए । ‘हामीले सुरु गरेको विपद् व्यवस्थापन प्रयासलाई उदाहरणीय रूपमा सफल बनाउने गरी पूर्व तयारी गरिरहेका छौं’, वातावरण तथा विपद् समिति संयोजक समीर प्रताप सिंहले भने ।
आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले सहजिकरण गरेको कार्यक्रम र युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले पश्चिम नेपालमा भूकम्पको जोखिम, अन्य सम्भावित विपद्, पूर्व तयारी, प्रतिकार्य र यो प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा सहजीकरण गरेका थिए । नगर वातावरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगन्जमा कार्यान्वयन गरिने विपद् बीमा अरू ठाउँका लागि पनि नमूना हुने गरी अगाडि बढाउनु पर्ने बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्क्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ । सुपरले विपद व्यवस्थापनकालागि योजना निर्माण तथा विपद विरुद्ध जुध्न दक्ष जनशक्ति समेत उत्पादन गरिरहेको छ ।

Exit mobile version