तेज रावल
दैनिक नेपालगन्जले बहसमूलक कार्यक्रम ‘अर्थगन्ज’ शुरु गरेको छ । बाँकेमा महिला उद्यमीको अवस्थालाई लिएर अर्थगन्जको पहिलो संस्करणमा महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सावित्रा बस्नेतसँग संवाद गरिएको छ ।
जिल्लाका ६५ जना महिला उद्यमी संगठित संघमा भइरहेका गतिविधिदेखि हालको अवस्थामा महिला उद्यमीहरुको व्यवसायिक सक्रियतालगायतका बारेमा छलफल गरिएको छ । हालैमात्र प्रादेशिक महिला उद्यमी व्यापार मेलाको आयोजना गरेको संघले के कस्ता उपलब्धी हासिल गर्यो ?
आजको अर्थगन्जमा महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सावित्रा बस्नेत
महिला उद्यमी संघको यो मेला पाँचौ पटक हो भने प्रादेशिस्तरिय मेला आठौं पटक हो । यो २०७५ सालबाट सुरुवात गरिएको हो । गाउँदेखि शहरसम्म उत्पादन भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्न, प्रोत्साहन गर्न, आफ्नो स्व पहिचान बनाउन प्रदर्शनीस्थलमा आएर म एउटा उद्योगी हुँ भन्ने पहिचान गर्ने , उत्पादित वस्तुको बजारीकरण गर्ने र उत्पादित अन्य वस्तुहरुको समेत जानकारी दिनेलिने र एकअर्कामा सम्बन्ध स्थापित हुन सकोस भन्ने महत्वूर्ण उद्देश्य रहेको छ । म महिला मात्र हु भन्ने मात्रै नभईकन म उद्योगी हुँ, दुई चार पैसा आर्जन गर्न सक्छु भन्ने आत्मबल बढाउने र उत्पादित वस्तुहरुमा आत्मनिर्भर बनाउन यो मेलाको उद्देश्य रहेको छ ।
स्वदेशी उत्पादनमा महिला उद्यमीहरु कसरी अगाडी बढीरहनु भएको छ ? देशमा आर्थिक मन्दी छ । वित्तिय एवं व्यावसायिक क्रियाकलापहरु सुस्त छन् । यसबाट बाँकेमा आवद्ध महिला उद्यमीहरुलाई कत्तिको असर परिरहको छ ?
कोभिड पछि महिलाहरु उद्यमशिलतामा केही हदसम्म पछाडी पर्नुभएको छ भने अर्कोतिर अहिलेको आर्थिक मन्दीले गर्दा समेत समस्या परिरहेको छ । व्यापार ठप्प छ । चुनौतीहरु बढ्दो छन् ।
भारतसँगको खुला सिमानाकाको कारण उद्योग व्यावसायहरुमा आएका समस्याहरु के के हुन र यसको समाधान के हुन सक्छ ? यसको लागि संघमा आवद्ध उद्यमीहरुलाई कसरी अगाडी बढ्नमा सुझाव सल्लाह दिन चाहनुहुन्छ ?
यो समस्या एकदमै चुनौतीको रुपमा रहेको छ । भारतमा महिला उद्यमीहरुलाई विशेषरुपमा अनुदान एवं छुटको व्यवस्था मिलाइएको छ । उत्पादित बस्तुहरुको बजारीकरणमा सुनिश्चितता गरिदिएको छ । जसले गर्दा भारतमा उत्पादन लागत घट््नुको साथै प्रोत्साहन मिलिरहेको छ । भने हाम्रो देशमा बजारको सुनिश्चितता छैन । अनुदान भएता पनि पर्याप्तता छैन । र एउटा समान्य महिला अनुदानको पहुँचसम्म पुग्न सक्ने हैसियत नै हुँदैन । तसर्थ हाम्रो उत्पादन नै महँगो हुन जान्छ । खुला सिमानाका भएको कारण भारतबाट आएको वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । महिला उद्यमीहरुलाई डिजिटलाइजेशनमा जोड दिँदै स्थानीय उत्पदान रोजौ अभियान चलाउनु पर्दछ जस्तो लाग्दछ ।
तपाई महिला उद्यमी संघ, बाँकेको अध्यक्ष बन्नु पूर्व र अहिलेको अवस्थामा संघमा के कस्ता किसिमका परिवर्तनहरु भएको पाउनु हुन्छ ?
सुरुवातको चरणमा महिलाहरुको नाममा उद्योग व्यावसाय नै दर्ता हुँदैन थिए । अहिले आएर महिलाहरुको नाममा दर्ता भएर स्वयम् महिलाहरु नै उद्योग व्यावसाय हाकिरहनु भएको छ । परिवारको आम्दानीमा आश्रित नभएर स्वंआर्जन गर्नुपर्दछ भन्ने महिलाहरुमा सोंच आएको छ । त्यो परिवर्तन देखिएकोछ ।
महिलाहरु उद्यमी एवं व्यावसायी बन्नको लागि आर्थिक सहायता, वित्तिय साक्षरता÷परामर्श र पारिवारिक सहयोगको आवश्यकताको कत्तिको महत्व राख्दछ ?
कुनैपनि व्यावसाय गर्नको लागि आर्थिक त मुख्य कुरा भईहाल्यो नै । आर्थिक नभएर अगाडी बढ्नै सकिदैन । त्यतिकै मात्रामा वित्तिय साक्षरता, वित्तिय अनुशासनको पनि महत्व रहन्छ । व्यावसाय गर्छु भनेर मात्रै हुँदैन । कसरी खर्च गर्ने ? कहाँ लगानी गर्ने ? व्यावसायिक फाईदा÷बेफाइदाको बारेमा जानकार हुनुपर्दछ । व्यावसायमा मिहेनत, अनुभव, लगनशिलता, रुची एवं ईमान्दारिता हुन एकदमै आवश्यक छ । अर्को महत्वपूर्ण पाटो भनेको पारिवारिक सहयोग हो । महिलाले सफल उद्योग व्यावसाय गर्न सक्छन् भन्ने सर्व स्वयम् महिलामा नै आत्मविश्वास हुनुपर्दछ र त्यो अनुसारको परिवारलाई बुझाउन सक्नुपर्दछ । व्यावसाय उद्योग संचालन गरिरहँदा धेरेै ठाउँमा व्यावसायिक हिसाबले आउने जाने गर्नुपर्दछ । त्यसको लागि परिवारले विश्वास गर्दै साथ सपोर्ट र सहयोगको त्यतिकै खाँचो हुन्छ । अनिमात्र लक्ष्यमा पुग्न सकिन्छ ।
नेपाल राष्ट्रको नीति बमोजिम बैंक तथा वित्तिय संस्थाहरुले महिला उद्यमीहरुको लागि भनेर सहुलियतपूर्ण कर्जाको व्यवस्थाबाट यहाँहरुले कस्तो किसिमको लाभ प्राप्त गर्नुभयो ? यसमा के भन्न चाहनुहुन्छ ?
महिला उद्यमी व्यवसायीहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ । धेरै महिला उद्यमी व्यावसायीहरुले उपभोग पनि गर्नुभएको छ । साथसाथै धेरै महिला दिदिबहिनीहरुले सहुलियतपूर्ण कर्जा नपाएको गुनासो गर्नुहुन्छ । कतिपय बैंकको नीति र कतिपय डकुमेण्टेशन पुर्याउन नसक्दा समेत कर्जा पाउन सक्नु भएको छैन । यसमा दुवै पक्षबीच परामर्शको आवश्यकता छ । तालिमको आवश्यकता छ ।