पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्जले प्रशासनिक अधिकार गुमायो । तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालय सुर्खेत, बुटवल, दाङ सारिए । सुर्खेत, बुटवल र दाङमा प्रशासनिक कामकाज भए पनि करोडौंका संरचना नेपालगन्जमा अलपत्र अवस्थामा छन् । यहाँबाट हुने प्रशासनिक काम अहिले प्रदेश मुकामबाटै हुने भएपछि नेपालगन्जले ठूलो क्षति भोग्नु पर्‍यो । यसले नेपालगन्जको प्रशासनिक मात्र होइन आर्थिकरुपमा समेत प्रत्येक्ष प्रभाव पर्‍यो ।

यसको प्रत्येक्ष प्रभाव अहिले बजारमा देखिएको छ । अहिले यसलाई मलहम लगाउने एउटा सम्भावित ढोका खुलेको छ । त्यो हो, ‘माउण्टेन फ्लाइट ।’ यसले यहाँको प्रशासनिक अधिकार त पुनर्जागृत गराउने छैन तर, जुनरुपमा आर्थिक क्षेत्रमा परेको प्रभाव थियो त्यसलाई भने केही सम्बोधन गर्नेछ । दुई वर्षको निरन्तर प्रयासपछि मानसरोवर दर्शनका लागि नेपालगन्जबाट माउण्टेन फ्लाइटको सफल परीक्षण भएको छ । यो पश्चिम नेपालकै लागि सुखद पक्ष हो ।

यो नेपालगन्जको लागि ठूलो अवसर भएको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘माउण्टेन फ्लाइटको सफल परीक्षण भएको छ,’ नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यो सफल भयो भने पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महŒवपूणर् उपलब्धि हुन्छ ।’ यसले यहाँको पर्यटन क्षेत्रमा केही आशा जगाएको उनको भनाइ छ । यो उडान परीक्षण सफल भएमा भारतीय पर्यटकहरु मानसरोवर दर्शनका लागि माउण्टेन फ्लाइट गर्न आउने उनी बताउँछन् । मानसरोवर विश्वका हिन्दुहरुको गन्तव्य भएको भन्दै त्यहाँ पुग्न विश्वको सबैभन्दा छोटो रुट नेपालगन्ज भएको उनले बताए । ‘यसभन्दा पहिला पनि महँगो शुल्क तिरेर मान्छे जाने आउने गथ्र्ये,’ उनी भन्छन्, ‘त्यो व्यावसायिक थिएन ।’ सिजनको समयमा सयौं भारतीय धार्मिक पर्यटकहरु मानसरोवर पुग्ने गर्छन । नेपालगन्जबाट हुम्लाको सिमकोट यात्रापछि उनीहरु मानसरोवरसम्म स्थलमार्ग हुँदै पुग्छन् ।

यसले भारतीयसँगै विश्वका धार्मिक पर्यटकका लागि सजिलो हुने र यहाँको पर्यटन व्यवसायमा थप मद्दत पुग्ने उनी बताउँछन् । ‘परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘अब यसलाई नियमित माउण्टेन उडान गर्नुपर्छ ।’ यो नियमित भयो भने नेपालगन्ज मात्र होइन, पश्चिम नेपालको विकासमा कोसेढुंगा सावित हुने उनको भनाइ छ । यसले यहाँको सकारात्मक आशा जगाएको उनी बताउँछन् ।

नेपालगन्जबाट एक घण्टा १५ मिनेटमा मानसरोवरको दर्शन गरेर फर्किन सकिनेछ । यसले यहाँको एउटा सम्भावना प्रारम्भ भएको छ । यसलाई एयरलाइन्स र यहाँका व्यवसायीले निरन्तरता दिन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । पूर्वी नेपालमा भने यसभन्दा अघिदेखिनै व्यावसायिक माउण्टेन फ्लाइट हुँदै आएका छन् । यहाँ पर्यटकको रुचि धेरै छ । नजिकैबाट हिमालको अवलोकन गर्न सकिने हुँदा माउण्टेन फ्लाइट पर्यटकका लागि आकर्षक हुन्छ । पश्चिममा पनि विश्वकै पवित्र धार्मिकस्थल कैलाश पर्वत र मानसरोवरसँगै कयौं हिमाली दृश्य अवलोकन गर्न पाइने हुँदा नेपालगन्जबाट हुने माउण्टेन फ्लाइट आवश्यक छ ।

एकदमै नजिकबाट एकैपटकमा चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर दर्शन देख्न सकिने पर्यटन व्यवसायी केशव न्यौपानेले जनाए । कोभिड-१९ पछि र आर्थिक संकटपछिको अवस्थालाई सुधार गर्ने अपेक्षा गरिएको छ । नेपाली भूभागमा यसरी उडान गरिएको पहिलोपटक भएको श्री एयरलाइन्सले जनाएको छ । नेपालगन्जबाट नेपाली, भारतीय र विदेशीलगायत धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महŒवपूणर् उपलब्धि हुन सक्ने श्री एयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनिल मानन्धरले जनाए । सोमबार गरिएको पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको उनको भनाइ छ । उक्त उडानमा क्याप्टेन प्रफुल्ल बैद्य र राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालकदलका पाँचजना सदस्यसहित उडान भरिएको थियो । आगामी दिनमा नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंस्थित पशुपतिको समेत दर्शन गराउने योजना रहेको उनको भनाइ छ ।

Exit mobile version