आज सहिद दिवस, सार्वजनिक बिदा छैन

काठमाडौँ । आज सहिद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका सहिदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ । आजको दिन सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू सहिदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

यस वर्ष आज सहिद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गएको पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद दिवस र रामनवमी गरी २ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको थियो ।

Exit mobile version