अपराधमा भारतीय संलग्नता बढ्दै

गणेश विशु

नेपालगन्जमा भारतीय नागरिकले गर्ने अपराधिक गतिविधि बढेको छ । भारतीय अपराधिक समूहले नेपालगन्जलाई लागूऔषधको ‘हट स्पट’का रुपमा समेत प्रयोग गर्दै आएका छन् । खुला सीमाका कारण नेपालगन्जमा आइ उनीहरुले अपराधिक क्रियाकलाप गर्ने गरेको देखिन्छ ।

अहिले बाँकेको जिल्ला कारागारमा ४६ जना भारतीय नागरिक छन् । उनीहरु सबैभन्दा धेरै लागूऔषधको अपराधमा संलग्न रहेको देखिएको छ । योसँगै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, मानव बेचबिखन र सवारी दुर्घटनामा उनीहरु संलग्न रहेका जिल्ला कारागारका प्रमुख अर्जुन जंग शाहले जनाए । अपराध गरिसकेपछि भाग्न र लुक्न सजिलो हुने भएकाले पनि भारतीय अपराधिक समूहको रोजाइमा नेपालगन्ज पर्ने गरेको छ । यसलाई समयमै नियन्त्रण नगर्ने हो भने नेपालगन्जमा अझ ठूला अपराधिक गतिविधि घट्न सक्ने देखिन्छ । उनीहरुको अपराधिक गतिविधिले बाँकेको सुरक्षा व्यवस्थालाई नै चुनौती दिएको छ ।

नेपालगन्जमा भारतीय नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र सुरक्षा नीति हो ।  सुरक्षा अधिकारीहरु खुला सीमाको फाइदा उनीहरुले उठाएको र नियन्त्रणको प्रयास भइरहेको जवाफ दिन्छन् । तर, यति जवाफले भन्दा सीमा पारिबाट वारि आएर हुने अपराधिक गतिविधि नियन्त्रण गर्न दुई देशबीचका सुरक्षा अधिकारीहरुको समन्वयात्मक भूमिका हुनु पर्ने स्थानीयको भनाइ छ ।

नेपाल-भारतको खुला सीमाको फाइदा भारतीय अपराधिक समूहले उठाइरहेको नेपालगन्जका अधिवक्ता वसन्त गौतमले जनाए । ‘यहाँ अपराध गरेपछि खुला सीमाका कारण भाग्न सजिलो छ,’ उनले भने, ‘अपराध गरेर सहजै र छिटै नाकाबाट भाग्न सजिलो हुने भएकाले उनीहरुले नेपालगन्जलाई छनोट गरेका हुन् ।’ सीमा क्षेत्रमा निगरानी मात्र बढाउने हो भने पनि यसलाई केही न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

ठूला अपराधिक गतिविधि हुन नपाए पनि नेपालगन्जमा भारतीय नागरिक साना अपराधिक गतिविधिमा संलग्न भएको नेपाल-भारतमैत्री संगठनका केन्द्रीय सदस्य सम थापाले जनाए । ‘अहिले भारतीय सुरक्षा अवस्थाका कारण यहाँ ठूला अपराधिक गतिविधि भारतीय नागरिकले गर्ने र उनीहरु लुक्ने सम्भावना कम छ,’ उनले भने, ‘स्थायी भारतीय सरकार हुँदा सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीको निगरानीले नेपालगन्जको अवस्थामा पनि प्रभाव पारेको छ । उनीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना कम देखिन्छ ।’ नेपालमा स्थायी सरकार नहुँदा र सुरक्षा व्यवस्था स्थिर नहुँदा भारतीय नागरिकले सानातिना घटना घटाइरहेको उनी बताउँछन् । जिल्लाका सुरक्षा अधिकारीहरुको क्षमता र कामप्रतिको लगनशीलताले पनि सुरक्षा अवस्था मजबुद हुने भन्दै उनले भने, ‘सुरक्षा अधिकारीले कर्तव्यनिष्ठ भएर काम गर्ने हो भने सानातिना हुने अपराधिक गतिविधि रोकिन सक्छन् ।’ यसमा सुरक्षा निकाय चनाखो हुनु पर्ने उनको भनाइ छ ।

भारतबाट आपराधिक समूह नेपालगन्जमा प्रवेश गरेर गर्ने अपराधिक गतिविधिले सीमा क्षेत्रमा सुरक्षा चुनौती त बढेको छ नै, नागरिकमा त्रासको वातावरण पनि सिर्जना गरेको छ ।

सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरणका लागि दुई देशबीचका सुरक्षा अधिकारहरुबीच बेलाबेलामा समन्वय हुँदै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाए । ‘बेलाबेला हुने दुई देशका सुरक्षा अधिकारीको बैठकमा कुरा हुन्छन्,’ उनले भने, ‘सीमा क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न व्यक्ति र अन्य शंकास्पद व्यक्तिको निगरानी भइरहेको छ ।’ केही भारतीय नागरिक फरार सूचीमा रहेको पनि उनले बताएका छन् ।

Exit mobile version