निर्माण कम्पनीको हठले अन्योलमा खजुराको फोरलेन सडक

खजुरा बजारको फोरलेन सडक अन्यौलगजुरमुखी कालोसूचीमा

वीरेन्द्र जैसी
बाँकेको खजुराका जनताको सानो सपना हो बजार क्षेत्रमा करिब १८ सय मिटर फोरलेन सडक । तर, गजुरमुखी नामक निर्माण कम्पनीले खजुराका जनताको उक्त सपनालाई ६ वर्षदेखि झुलाइरहेको छ । अहिलेसम्म निरिह बनेर कम्पनीलाई जिम्मेवारी पूरा गराउन नसकेको सडक विभाग फेरि गजुरमुखीकै जालोमा परेजस्तो भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत २०७४ चैत २९ गते गजुरमुखी कन्ट्रक्सनले करिब साढे २१ करोड रुपैयाँमा साढे २ वर्षभित्र निर्माण पूरा गर्छुँ भनेर जिम्मा लिएको थियो । तर, ६ वर्ष भइसक्यो यो सडक निर्माण पूरा भएको छैन ।
कम्पनीले जिम्मेवारी पूरा नगरेर झुलाएपछि गजुरमुखीलाई सडक विभागले बल्ल आएर कालोसूचीमा राख्नु भनेर सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्याै । सार्वजनिक खरिद अनुगमन कार्यालयले माघ १५ गते कालोसूचीमा राख्यो ।
सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदी भन्छन्, ‘कम्पनीले पटक पटक काम ढिलो गर्ने, पटक पटक ताकेता गर्दा पनि काम नगर्ने, गुणस्तीय काम नगर्ने भएपछि कम्पनीलाई कालोसूचीमा राखिएको छ । बाँकी कामको रकम पनि तिर्न पत्राचार गरिएको छ ।’
निर्माण कम्पनी गजुरमुखीले भने भदौ ७ गते नै कालोसूचीको कारबाही अघि नबढाउनु भनेर सर्वाेच्चबाट स्टे अर्डर लिइसकेको खुलासा भएको छ । सोही स्टे अर्डर देखाएर गजुरमुखी अहिले पनि काम गरिरहेको जस्तो देखाइरहेको छ ।
६ वर्षसम्म गर्न नसेकेको काम अब केही दिनमै पूरा हुने दाबी गरिरहेको छ । निर्माण कम्पनी गजुरमुखीका निर्देशक सन्तोष गौतम भन्छन्, ‘भदौ १ र भदौ ७ गते यससम्बन्धि कुनैपपनि कामकारबाही अघि नबढाउनु भनेर स्टे अर्डर दिएको छ । हामी काम गरिरहेकै छौँ ।’
तर, सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन अधिकृत संगीता महर्जन सडक विभागले कालोसूचीका लागि सिफिरिस गरेर आफूहरुकहाँ विषय पुगिसकेपछि मात्रै अदालतको स्टे अर्डर आएको बताउँछिन् । कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विपक्षी नबनाएर स्टेका लागि निवेदन दिएको उनको भनाइ छ ।
गजुरमुखीले एउटा योजनालाई ६ वर्षदेखि झुलाएर राख्यो अनि अहिले आएर अदालतबाट स्टे अर्डरको सहारा लिइरहेको देखिएको छ । राज्यका सम्बन्धित निकाय लाचार बन्ने देखिँदैछ । गजुरमुखीका निर्देशक गौतम भन्छन्, ‘हामी तयार अवस्थामा छौँ । मौसम सुध्रिनेबित्तिकै डिपीसी गरेर काम सम्पन्न गर्छौँ ।’ तर, निर्माण कम्पनीले यस्ता दाबी कयौँपटक गरिसकेको छ । ढाँटिरहेको छ । जनता आजित भइसकेका छन् । खजुराका स्थानीय गंगाराम खनाल भन्छन्, यो सडकको अवस्था देखेर गाली नगर्ने र पिर नमान्ने कोही छँदै छैन ।
कम्पनीलाई कालोसूचीमा राखिएको सूचनाले सडक डिभिजन नेपालगन्जका कर्मचारी मात्रै नभै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक पनि अब काम बन्छ भन्नेमा ढुक्क भएको उनको कुराबाट बुझिन्छ । अध्यक्ष बिक अब हुलाकी सडक आयोजनाले उक्त सडक बनाउने दाबी गर्छन् । दैनिक नेपालगन्जसँग उनी भन्छन्, ‘हामीले हुलाकी सडकबाट सडक बनाउनुपर्याे भनेर सिफरिस गरेका छौँ । उतैबाट बन्छ भन्ने विश्वास छ ।’
हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार, अवस्था त्यस्तो छैन । सडक विभागले कम्पनीसँगको कुरा नटुंग्याइकन स्तरोन्नतीको आयोजना सुरु नहुने उनी बताउँछन् ।
यता हुलाकी सडककै अवस्था के हुने हो अन्योल देखिएको छ । निर्माण कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ । कामको गुणस्तर पनि सन्तोषजनक देखिन्छ । तर, काम गरिरहेको शर्मा एण्ड कम्पनीले काम गरेको करिब ८७ करोड रुपैयाँ भुक्तानी दिन नसकिएको हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालयका सूचना अधिकारी पाण्डेय बताउँछन् ।
राज्यकै निकायका बाझिने बुझाई र धारणाहरु अनि निर्माण कम्पनीको हर्कतका बीच खजुरा बजार क्षेत्रको यस सडकको भविष्य के हुने हो ? अझै अन्योल सकिएको छैन ।
विस्तृतमा हामीले तयार गरेको भिडियो रिपोर्ट हेर्नु होला ।

Add Your Heading Text Here

Exit mobile version