७२ वर्षीया  वृद्धामाथि जबरजस्ती करणी

जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कार मुद्दामा एकै दिन चारजनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका-६ का १५ वर्षीय किशोर, बारबर्दिया नपा–११ का ३० वर्षीय युवा, बढैयाताल-६ का ४५ वर्षीय पुरुष र गुलरिया-४ का पुरुष पक्राउ परेका हुन् ।

यसमा १५ वर्षीया किशोरीदेखि ७२ वर्षीया वृद्धा पनि बलात्कारको सिकारमा परेका छन् । राजापुर नगरपालिका-८ की १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका हुन् । उनले किशोरीलाई ललाइफकाई नेपालगन्जस्थित आफ्नो दाजु नाता पर्नेको घरमा लगेर पटकपटक बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी तुलसीराम अर्यालले बताए ।

यसैगरी बारबर्दिया नपा–११ का ३० वर्षीय युवाले स्थानीय ६८ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको डीएसपी अर्यालले जनाए । बढैयाताल गापा–६ का ७२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।

त्यस्तै गुलरिया नपा–४ का १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणीको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ परेकाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको डीएसपी अर्यालले जनाए ।

Exit mobile version