धम्बोझी मावि असल अभ्यास गर्ने उत्कृष्ट २१ विद्यालयमा

नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालय देशभरको असल अभ्यास गर्ने विद्यालयहरुको सूचिमा परेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६० जिल्लाका ४ हजार ८ सय ६७ वटा विद्यालयको कार्यसम्पादन परीक्षणमा धम्बोझी उत्कृष्ट २१ भित्र परेको हो ।


सात वटा प्रदेशका उत्कृष्ट तीन/तीन वटा विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले असल अभ्यासका २१ विद्यालयहरुको प्राप्तांक पनि सार्वजनिक गरेको छ । त्यसमा नेपालगन्जको धम्बोझी माविले ८६.२ नम्बर प्राप्त गर्दै नवौं स्थानमा रहेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिए । प्रअ सुवेदीले शिक्षाको गुणस्तरका लागि विद्यालयले गरेको मेहनतको परिणाम आएको बताए । ‘हामीलाई यसले थप राम्रो गर्न हौशला प्रदान गरेको छ’ विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाहीले भने ।


असल अभ्यास गर्ने सूचिको पहिलो नम्बरमा लुम्बिनीबाट रुपन्देहीको कालिका मानवज्ञान मावि पहिलो नम्बरमा र कान्ति मावि बुटवल छैठौं नम्बरमा रहेको छ ।


नेपालगन्जको धम्बोझी मावि सामुदायिक विद्यालयहरुमा निकै राम्रो मानिन्छ । केन्द्रले विद्यालयको मूल्यांकनका लागि १६ बुंदे सूचक तय गरेको थियो ।

Exit mobile version