‘सञ्चार नीति आवश्यक’

मिडिया र स्थानीय तहको समन्वकारी भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । सोमबार प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियाका वक्ताहरुले मिडिया र स्थानीय तहको समन्वयकारी भूमिका अहिलेको आवश्यकता भएको बताएका हुन् ।


प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार शिव डोटेलले सञ्चार नीति आवश्यक रहेको बताएका थिए । उनले मुलुक संघीयतामा गैसकेकाले स्थानीय मिडिया जोगाउने दायित्व पनि स्थानीय तहको भएको बताए ।


वरिष्ठ पत्रकार डोटेलले मिडियाहरुले पनि संघीयताको भावना अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने बताए । ‘अब स्थानीय तहका गतिविधि, योजना तथा कार्यक्रमलाई चासो दिएर मिडियाले त्यो सूचना नागरिकसम्म पुर्याउनु पर्छ’, उनले भने, ‘त्यसका लागि दुवै पक्षको समन्वय तथा सहकार्य जरुरी छ ।’


पत्रकार डोटेलले स्थानीय तहका जनप्रतिनिधिले आफु नजिकका मिडियालाई पनि प्रवद्र्धनात्मक सामाग्री दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘त्यसैले स्थानीय सरकारले नीति नै बनाएर मिडिया प्रवद्र्धन गर्न आवश्यक छ, अहिले मिडिया समस्यामा रहेकाले प्रवद्र्धनको आवश्यकता खट्किइसकेको छ’, उनले भने ।


नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्माले मिडिया र स्थानीय तह बीच समस्या देखिएको भन्दै समाधानका लागि बहस, छलफल आवश्यक रहेको बताए ।


कार्यक्रममा प्रदेशसभा सदस्य दुर्गा चौधरीले मिडियाको भूमिका सरकारका योजनाहरु नागरिकसम्म पुर्याउन निकै महत्वपूर्ण रहेको बताए । ‘कतिपय कार्यक्रमको जानकारी नागरिक स्तरसम्म नपुग्दा प्रभावकारी हुन सकेको छैन’, उनले भने ।


नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले लोकतन्त्र बलियो बनाउन मिडिया जोगाइराख्नु पर्ने बताए । उनले त्यसको दायित्व बोध गर्दै सञ्चार नीति बनाएर योजना अनुसार मिडिया प्रवद्र्धनको काम गर्ने बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले सञ्चार नीति बनाउने बताए । उनले सञ्चार सम्बद्धसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।


नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले लोकतन्त्रका लागि सशक्त सञ्चार आवश्यक रहेको र त्यसको बोध स्थानीय तह आफैले गर्नुपर्ने धारणा राखे ।


प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन प्रेस संगठनका केन्द्रीय सदस्य डक्ट धिताल, प्रेस यूनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका लोकनाथ शर्मा लगायतले बालेको थिए ।

यसैबीच स्थापना दिवसको अवसरमा आज विहान प्रेस चौतारी कोहलपुर कमिटिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय निकायको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कमिटि अध्यक्ष प्रमोद रिजालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रुद्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रेस चौतारीका कोहलपुरका सचिव रवि रोकायले कार्यक्रम सञ्चालन गरेका थिए ।

Exit mobile version