यूरोपियन यूनियनको टोली नेपालगन्जमा

युरोपियन युनियनको उच्च स्तरको टोलीले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को अनुगमन गरेको छ । सुपर कार्यक्रमको फिल्ड अनुगमन पश्चात टोलीले सोमबार नेपालगन्ज उपमहानगरपालिकाको टिम र निजी क्षेत्रका प्रतिनिधिहरूसंग छलफल गरेको छ ।
टोलीले नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुुर खड्का, प्रबक्ता प्रमोद रिजाल लगायत विभिन्न शाखाका प्रमुखहरूसंग परियोजनाका विषयमा छलफल गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए । विपद् शाखा प्रमुख प्रकाश डिसीले सहजीकरण गरेको छलफलमा विपत समिति संयोजक समिरप्रताप सिंहले विपद व्यवस्थापनका क्षेत्रमा भएका उपलब्धिहरूका बारेमा जानकारी गराएका थिए ।
नगर प्रमुख विष्टले सुपरले विपद विरुद्धको अभियानमा सार्थक भूमिका निभाइरहँदा नेपालगञ्ज उपमहानगरपालिकालाई विपद व्यवस्थापनका लागि कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सहज भइरहेकोे बताए । उनले विपद जोखिम बीमा, व्यवसायिक निरन्तरता योजना लगायतका कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।
छलफलमा कार्यपालिका सदस्य बसन्तकुमार कनोजिया, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डे लगायतले धारणा राखेका थिए । त्यस पश्चात निजी क्षेत्रका प्रतिनिधिहरूसंग पनि युरोपियन युनियनको टोलीले विपद व्यवस्थापनमा निजी क्षेत्रसंगको साझेदारीका विषयमा छलफल गरेको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि काम गरिरहेको छ । वडा नम्बर ३ र ७ मा यो परियोजना सञ्चालनमा छ ।

Exit mobile version