६ महिनामा चार प्रतिशतले मात्रै बढ्यो कर्जा

राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार छ महिनामा बैंकहरूबाट निजी क्षेत्रतर्फ गएको कर्जाको वृद्धि दर ४ प्रतिशतले मात्रै बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा निजी क्षेत्रतर्फ गएको कर्जा ५१ खर्ब १७ अर्ब रूपैयाँ छ । यसमध्ये साँवा ४९ खर्ब ८९ अर्ब र ब्याज रकम बराबर एक खर्ब २७ अर्ब रूपैयाँ छ ।

निजी क्षेत्रतर्फ गएको कर्जामध्ये साँवा रकममा ४ प्रतिशतले वृद्धि भएको हो । गत असारमा यस्तो साँवा रकम ४७ खर्ब ९७ अर्ब रूपैयाँ थियो । ब्याज रकम भने करिब २८ प्रतिशतले बढेर ९९ अर्बबाट बढेर एक खर्ब २७ अर्ब पुगेको हो । आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकहरूले ब्याज उठाउन सकिरहेका छैनन् भने खराब कर्जामा पनि वृद्धि भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको थियो । तर अहिले बैंकहरूमा पर्याप्त लगानी रहे पनि केही बैंकलाई रहेको पुँजी कोष दबाब र कर्जा मागमा कमीले कर्जा विस्तारमा सुस्ति आएको छ ।

Exit mobile version