अध्यागमन अधिकृत खड्कासहित चार जेल चलान

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् । संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो ।

अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् । अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई सात/सात लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रवीन अर्याल र पदम लामालाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ ।

प्रहरीले सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन् । यो मुद्दामा अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो र बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं फरार छन् ।

Exit mobile version