राजापुर भन्सारद्वारा ८२ लाख राजश्व सङ्कलन

बर्दिया । बर्दियाको राजापुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुस सम्ममा रु. ८२ लाख २७ हजार ५ सय ७२ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६४ प्रतिशत हो । आ.व. २०८०÷८१ मा भन्सारले रु. एक करोड २८ लाख १२ हजार राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।
यसै गरी आ.व. २०७७/७८ मा रु. २ करोड ३६ लाख ८१ हजार राजश्च सङ्कलन गर्ने लक्ष्य लिएको राजापुर भन्सार कार्यालयले रु. २ करोड ४० लाख ३ हजार १ सय ८९ राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख धन बहादुर शाहीले जानकारी दिनुभयो । यस्तै आ.व. २०७८÷७९ मा रु. २ करोड १० लाख ३३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु. १ करोड ३५ लाख १७ हजार १ सय ६ राजश्व सङ्कलन भएको थियो ।
कार्यालय प्रमुख शाहीका अनुसार आ.व. ०७९/०८० मा रु. २ करोड ८० लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु. १ करोड ३३ लाख ४९ हजार १ सय ४ राजश्व सङ्कलन गरिएको थियो । अवैध कारोबार अन्तर्गत बरामद भएको मालवस्तु लिलामीबाट सबैभन्दा वढी राजश्व सङ्कलन भएको हो । राजापुर भन्सार कार्यालय अन्तर्गत ८ वटा छोटी भन्सार कार्यालय मध्ये गुलरिया छोटी भन्सार र ताराताल छोटी भन्सार कार्यालय सञ्चालनमा रहेता पनि अन्य ६ छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेका छन् ।
राजापुर भन्सार कार्यालयको काउण्टर पार्ट कार्यालय कतर्निया घाट भन्सार बाट निर्यात पनि नभएकोले सोचेजस्तो राजश्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख शाहीले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।

Exit mobile version