शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार शिक्षा अधिकृत न्यौपाने कार्यालयबाट घर फर्कने क्रममा नेकपा क्रान्तिकारी (वैद्य) समूहका कार्यकर्ताहरुले बलियास्थित पूर्व-पश्चिम राजमार्गमा दुर्व्यवहार गरेका थिए ।

दुर्व्यवहारमा संलग्नमध्ये लम्कीचुहा ९ का ३१ वर्षीय भुवन रम्तेललाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ । रम्तेल नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इन्चार्ज हुन् । उनलाई कैलारी गाउँपालिका-७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Exit mobile version