नेपालगन्जमा आजदेखि साइकल उत्सव

आज र भोलि नेपालगन्जमा हुने टूर डे ठाकुरद्वारामा दुईसय बढी साइकलयात्री सहभागी हुने भएका छन् । आयोजक नेपालगन्ज साईक्लिङ क्लबले पत्रकार सम्मेलन गरी कार्यक्रममा चीन र भारतबाट समेत सहभागिता रहने जनाएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सतिश निरौलाले तयारी पूरा भएको जानकारी दिए । भोलि शुक्रबार बिहान  नेपालगन्जको बागेश्वरीबाट सुरु हुने यात्रा बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय स्थान पुगेर ठाकुरद्वारा पुग्ने छ । आज बिहीबार बिहान नेपालगन्जको वाटरपार्कमा किड्स रेस हुने भएको छ ।

बाँके र बर्दियाका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबर्द्धनका लागि ६ वर्षदेखि यो कार्यक्रम हुँदै आएको छ । यस वर्ष २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । पत्रकार सम्मेलनबीच मुख्य प्रायोजक बिवाइडीसँग सम्झौता आदानप्रदान गरिएको थियो ।

Exit mobile version