डढेलो निभाउने क्रममा महिला घाइते

वनमा डढेलो निभाउने क्रममा एकजना महिला घाइते भएकी छन् । बिहीबार हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ८ कोष टाढा रहेको खार्पुनाथ-५ याङचुमा लागेको आगो निभाउने क्रममा स्थानीय अन्दाजी ४९ वर्षीया लक्षिमा सिंह घाइते भएकी हुन् ।

बच्चाहरु खेल्ने क्रममा बिहीबार दिउँसो १२ बजेतिर याङचुका वनमा आगलागी भएपछि निभाउने क्रममा घाइते भएकी सिंहको शरीरका विभिन्न भाग जलेको छ । वनमा लागेको आगो सिंहको लुगामा सल्केपछि स्यालाबाडा गाउँका स्थानीय मनराज शाहीले उद्धार गरी अस्पताल पुर्‍याएको अहेव शाहीले बताए । उनको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको अस्पतालका अहेव जैमलबहादुर शाहीले बताए । सिंहको आर्थिक अवस्था अति कमजोर भएकाले उपचारका लागि जिल्ला बाहिर लान सक्ने नभएकाले सामुदायिक अस्पतालमा प्राथामिक उपचार भइरहेको हुम्ला जिल्ला प्रहरी प्रवक्ता नरेन्द्र चन्दले बताए ।

आगलागीबाट याङचुका वनसँगै बाम्नी माडु (मन्दिर) पनि जलेर नष्ट भएको छ । खार्पुनाथ गाउँपालिका केन्द्रमा रहेको प्रहरी पोष्टका प्रहरी खार्पुनाथ पालिकाका कर्मचारी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

Exit mobile version