साइकल दौडाउँदै बालबालिका

नेपालगन्ज साइकल उत्सव अन्तर्गत बिहीबार किड्स रेस आयोजना भएको छ ।
कार्यक्रम संयोजक रमेश मल्लका अनुसार, ६ देखि १० बर्ष उमेर समूहका ३० जना बालबालिका सहभागी रहेको साइकल दौडमा कृतज्ञ लव श्रेष्ठले २ मिनेट ५५ सकेण्डमा १.४ किलोमिटर दुरी पार गरेर प्रथम भएका छन् । त्यस्तै, प्रदिप जोशी, आदित्य मल्ल र सक्षम श्रेष्ठ क्रमशः दोस्रो, तेस्रो र चौथो भए ।
आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले बालबालिकालाई आधारभूत तहमै साइकलप्रतिको आकर्षण र साइकललाई खेलकुदका रूपमा मनोरञ्जन गर्न सकिन्छ भन्ने कुराको ज्ञान दिन अघिल्लो बर्षदेखि किड्स रेस आयोजना गर्न लागिएको बताए ।
‘यसले नेपालगन्जलाई साइकल सिटीका रूपमा चिनाउन महत्वपूर्ण बन्दै गएको टूर डे ठाकुरद्वारा लगायतका इभेन्टलाई स्थापित गराउन पनि सहयोग पुर्याउने हाम्रो विश्वास हो’, अध्यक्ष सापकोटाले भने । उनका अनुसार, किड्स रेसमा सहभागीहरूको संख्या अघिल्लो बर्षको तुलनामा दोब्बर भएको छ ।
‘व्यवस्थापकीय दृष्टिले चुनौति भएकाले अपेक्षित सबैलाई सहभागी गराउन सकिएन’, ५ बर्ष उमेरका बालबालिकाले समेत सहभागिता जनाएको प्रसंग जोड्दै अध्यक्ष सापकोटाले आगामी दिनमा अझ भव्य र सभ्य बनाउँदै जाने बताए । कार्यक्रममा प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेको वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, मेरो टुकी प्रज्ञालयका संस्थापक भोजराज शर्मा
लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

Exit mobile version