जीबी राई समूहको सहकारी ठगी प्रकरणः नेपालगन्जमा चार करोडभन्दा बढी ठगी

सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राई समूहले बाँकेमा पनि झन्डै चार करोड बढी रकम ठगी गरेको पाइएको छ । नेपालगन्जमा सञ्चालित समानता सहकारीमा बचतकर्ताले बचत गरेको पैसा उक्त समूहले ठगी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जीबी राई समूहले सञ्चालन गरेको सहकारीबाट ठगिएकालाई निवेदन दिन सूचनानै जारी गरेको थियो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा ९७ जनाले ठगिएको उजुरी दिएका छन् । उनीहरुको चार करोड २९ लाख २१ हजार सात सय २७ रुपैयाँ ठगी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए । उनका अनुसार यो रकमको दायरा बढ्न सक्छ । उक्त सहकारीमा एउटै व्यक्तिले ८१ लाख रुपैयाँसम्म बचत गरेका थिए ।

समानता सहकारीमा करिब ६ सय बचतकर्ताको १५ करोड रुपैयाँभन्दा बढी निक्षेप छ । सञ्चालक समितिका सात जनासहित १५ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति पाए पनि प्रहरीले कसैलाई फेला पारेको छैन । जीबी राईसहित सबैजना फरार छन् ।

बाहिरबाट शाखा आएको सहकारीप्रति विश्वास गर्नुले पनि बचतकर्ताको पैसा जोखिममा परेको यहाँका सहकारीकर्मीहरुको भनाइ छ । ‘काठमाडौंबाट शाखा ल्याएर आकर्षक देखिने कार्यालय सञ्चालन गर्छन,’ एक सहकारीकर्मीले भने, ‘घर नजिकै खोलिएको सहकारीलाई विश्वास नगरेर त्यही आकर्षक सहकारीलाई विश्वास गरेर पैसा जम्मा गरिन्छ । अनि ठगीमा परेको थाहा नै हुँदैन ।’

अहिले उक्त सहकारी बन्द अवस्थामा छ । सहकारीले घरभाडासमेत नतिरेको पाइएको छ ।

Exit mobile version