आयोडिन कम हुँदा के हुन्छ ?

सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाउने गर्दछ । आयोडिनको महत्व र आवश्यकतालाई सचेतनामूलक कार्यक्रम मार्फत आम उपभोक्तासम्म पुर्याइने गरिएको छ । सरकारले नेपालमा नुनमा आयोजिन मिसाएर नागरिकको भान्सासम्म पुर्याएर आयोडिन प्रयोग सुनिश्चित गर्दै आएको छ ।


खानामा प्रयोग हुने नुनमा आयोडिनको प्रयोगले नेपालमा त्यसको प्रयोग निकै राम्रो छ । नेपालमा ९० प्रतिशत भन्दा बढीले आयोडिन नुनको प्रयोग गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकामा आयोजित आयोडिन नुनको प्रयोगबारे पत्रकारसँगको अन्तरक्रियामा जानकारी दिइएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा साल्ट टे«डिङ कर्पोरेसन नेपालगन्ज र उपमहानगरपालिकाले महिनाभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइएको थियो ।


उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीले नुनको प्रयोग, त्यसको कम र बढी प्रयोगले हुने हानी नोक्सानीका बारेमा जानकारी गराएका थिए ।


आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरूलाई क्रमशः स्वास्थ्य चौकिहरूमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिकाका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरू संचालन गर्दै आएको छ ।


कार्यक्रममा साल्ट ट्रेडिङ्गका नेपालगन्ज प्रमुख मनोज चौधरीले पर्याप्त मात्रामा नुनको स्टक रहेको बताएका थिए । ‘सरकारले ढुवानीमा अनुदान दिने गरेको छ’, उनले भने, ‘पहाडि जिल्लामा सरकारले छुट्याएको कोटा अनुसार नुनको आपूर्ति भैरहेको छ ।’

आयोडिन कम हुँदा के हुन्छ ?

आयोडिन मानिसको स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको छ । आयोडिनको कमीले स्वास्थ्य सम्बन्धी समस्या नहोस् भनेर सरकारले नुनमा आयोडिन मिसाएर नागरिकसम्म पुर्याउने गरेको छ । प्रत्येक बर्ष फेब्रुअरीमा आयोडिनको महत्वबारे जनचेतनामूलक कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।


‘आयोडिन कमी हुँदा विभिन्न रोगहरू लाग्न सक्छ’, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका फोकल पर्सन तेज बहादुर वली भन्छन्, ‘आयोडिन कम मात्रामा तर मानव स्वास्थ्यका लागि नभई नहुने तत्व हो ।’ ‘आयोडिनको कमी हुँदा गर्भ तुहिने, मरेको बच्च जन्मने, अविकसित दिमाग, शारीरिक विकलांक हाइपरथाइरोइडिज्म, पढाईमा कमजोर र सुस्त मनस्थिति, शारीरिक कमजोरी हुनसक्छ’, वली भन्छन् ।


शरीरमा कार्बोहाइड्रेटको मेटाबोलिज्मबाट शक्ति प्रदान गर्नको लागि थाइरोक्सिन भन्ने हर्मोनको आवश्यकता पर्छ । यो थाइरोक्सिन हर्मोन थाइरोइड ग्रन्थीबाट निस्किन्छ । थाइराइड ग्रन्थीलाई थाइरोक्सिन हर्मोन निकाल्न आयोडिनको आवश्यकता हुन्छ ।
शरीरमा कुल आयोडिनको मात्रा ५० मिलिग्राम हुन्छ । शरीरको कुल आयोडिनको आधा भाग थाइरोइड ग्रन्थीमा र बाँंकी आधा भाग रगत र शरीरका अरू विभिन्न तरल पदार्थहरूमा पाइन्छ ।


आयोडिनको मुख्य स्रोत समुद्री माछा र समुद्रमा पाइने अरू खाद्यवस्तुहरू हुन् । आयोडिन सबै खाद्यवस्तुहरूमा थोरै मात्रामा पाइन्छ । तर यो कुन अनुपातमा पाइन्छ भन्ने कुरा ती खाद्यवस्तु उब्जाइएको माटोमा निर्भर गर्छ । साधारणतया पहाडी इलाकाको माटोमा कम आयोडिन हुन्छ । यस्ता स्थानहरूमा बस्नेहरूले आयोडिन मिसाएको नुन प्रयोग गर्नुपर्छ ।
साना केटाकेटीहरूमा आयोडिनको धेरै कमी भयो भने शारीरिक, मानसिक विकासमा रोकावट आउँछ । दिमागको विकास यस्तो किसिमबाट रोकिन्छ कि पछि आयोडिन प्रशस्त दिए पनि सुधार आउन सक्दैन । यो अवस्थालाई क्रिटिनियजम भनिन्छ ।


कति मात्रा आवश्यक

नेपालगन्ज उपमहानगर–पालिकाका स्वास्थ्य महाशाखाका फोकल पर्सन वलीका अनुसार, ५९ महिनासम्मका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ बर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, वयस्कलाई १ सय ५० माइक्रोग्राम र गर्भवति तथा सुत्केरीलाई २ सय ५० माइक्रोग्राम आयोडिनको आवश्यकता पर्दछ ।

Exit mobile version