खोकीका बिरामीको उपचार विधिबारे नयाँ सुझाव

खोकी पीडित बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य ओखती दिनु पर्ने सुझाव ब्रिटेनको नयाँ स्वास्थ्य निर्देशिकाले दिएको छ । एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भएकोले चिकित्सकहरूले एन्टिबायोटिक्सको सिफारिस गरिहाल्न नहुने सुझाव दिइएको छ ।

धेरैजसो बिरामीहरूमा दुई वा तीनसाताभित्रै खोकी आफैँ निको हुँदै जाने गर्छ । एन्टिबायोटिक्सको जथाभाबी प्रयोग गर्दा बिरामीलाई एन्टिबायोटिक्सले नछुने समस्या देखा पर्छ । त्यसैले एन्टिबायोटिक्स प्रतिरोधको समस्या कम गर्न डाक्टरहरूलाई यी नयाँ सुझावहरू दिइएको निर्देशिकामा भनिएको छ ।

घरेलु उपचार

ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स (एनआसीइ) र पब्लिक हेल्थ इंग्ल्याण्ड (पिएचइ) ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन् ।

धेरै जसो खोकीहरू भाइरसका कारण लाग्छ जुन चाहिँ एन्टिबायोटिक्सले निको पार्न सक्दैन ।

आफ्नो ख्याल आफैँ

यसअघिको अनुसन्धानले भने ब्रिटेनका ४८ प्रतिशत डाक्टरले खोकी वा ब्रोन्काइटिसका लागि एन्टिबायोटिक्स सुझाएको देखाएको थियो । पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सले एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक भएको बताएकी छन् ।

उनले यो नयाँ निर्देशिकाले डाक्टरहरूलाई एन्टिबायोटिक्स विरामीलाई सुझाउन कम गर्न मद्दत गर्ने र डाक्टरलाई देखाउनुअघि आफ्नो ख्याल आफैँ गर्न पनि बिरामीलाई प्रेरित गर्ने बताएकी हुन् । यद्‌यपि उक्त निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्नसक्न सुझाएको छ ।

एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु ठिक मानिँदैन ।

बीबीसी

Exit mobile version