बस्नेतको नेतृत्वमा भेरी साहित्य समाज

भेरी साहित्य समाजको सातौ अधिवेशनले प्रगतिशील साहित्यकार इन्द्र बहादुर बस्नेतको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

पश्चिम नेपालको प्रतिनिधिमुलक साहित्यिक संस्थाका रुपमा रहेको भेरी साहित्य समाजको शनिवार भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । यसअघि १४ वर्षसम्म समाजको नेतृत्व हरि प्रसाद तिमिल्सिनाले सम्हालेका थिए ।

समाजको बरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द, महासचिवमा गिता अर्याल, सचिवमा प्रभात सुबेदी र कोषाध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् । सुन्दर गुरुङ, मिना बराल, चन्द्रावती अधिकारी, कोकीला सिंह, भरतबहादुर रानाभाट, बालकृष्ण शर्मा रेग्मी, राजकुमार चौधरी, रामचन्द्र आचार्य, बोधराज प्याकुरेल, हेमन्तराज माण्डब्य, पवन जायसवालसहितका कार्यसमिति सदस्य निर्वाचित भएको निर्वाचन संयोजक पूर्णलाल चूकेले जानकारी दिए ।

त्यसअघि अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको अधिवेशन पूर्व प्राज्ञसभा सदस्य सनत रेग्मीले उद्घाटन गरेका थिए । अधिवेशनमा महासचिव लेकप्रसाद प्याकुरेलले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । भेरी साहित्य समाजमा पश्चिम क्षेत्रका ६ वटा जिल्लाका साहित्यकारहरु आवद्ध रहेका छन् ।

कोषाध्यक्ष फनीन्द्र आचार्यका तर्फबाट पुष्कर रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बाँके जिल्लाको अध्यक्ष रामप्रसाद देवकोटा, बर्दियाका सचिव प्रभात सुवेदी, सुर्खेतका अध्यक्ष थानेश्वर लामिछाने, कैलालीका अध्यक्ष डाक्टर चक्र प्रसाद अधिकारीले आफ्ना जिल्ला शाखाका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

डा. नारायण गैरेपछि १४ वर्षअघि भेरी साहित्य समाजको सम्हालेका अध्यक्ष तिमिल्सिनाले शनिवारनै नव निर्वाचित अध्यक्ष इन्द्र बहादुर बस्नेत जिम्मेवारी हस्तान्तरण गरेका छन् । उनी निरन्तर चार कार्यकालको सफल नेतृत्व सम्हाल्दै समाजबाट विदा भएका हुन् ।

‘अवधी,उर्दु,थारू भाषा साहित्यको उत्थानका लागि निरन्तर प्रयास भएका छन्, सबैभन्दा महत्त्वपूर्ण कुरा सबैखाले विचारभन्दा माथि साहित्यलाई राखेर सबैलाई समेट्ने काम गरिएको छ,’ समाजको १४ वर्ष नेतृत्व गरेका तिमिल्सिनाले भने, ‘संस्थाले स्थापित गरेका मूल्यमान्यताहरूको सुरक्षा गर्दै संस्थाका गतिविधिहरू सञ्चालन सफलता नवनिर्वाचित समितिलाई सुम्पिएका छौं ।’

कृति विमोचन

भेरी साहित्य समाजले प्रकाशन गरेका विभिन्न चार कृति शनिवार विमोचन गरिएका छन् । युवा साहित्यकार इश्वरी प्रसाद रिजालद्वारा लिखित बाँकेःशताब्दी साहित्य साहित्येतिहास ग्रन्थ, बोधराज प्याकुरेलको शङ्का लघुकथा सङ्ग्रह, वयोवृद्ध स्ष्टा भूपेन्द्र प्रकाश शर्माको हर्कत कविता संङ्ग्रह विमोचन गरिएको हो । समाजको साहित्यिक मुखपत्र दौँतरीको २७ औँ अङ्क पनि शनिवारनै लोकार्पण गरिएको हो ।

सम्मान

अधिवेशनको उदघाटन सत्रमा साहित्य क्षेत्रमा योगदान पु¥याएका समाजका संस्थापक केन्द्रीय सदस्य झलकजी विकल्प, दाङका वरिष्ठ साहित्यकार टिकाराम उदासी, बर्दियाका अयोध्या प्रसाद श्रीवास्तव, इन्द्र बस्नेत र सुर्खेतका थानेश्वर लामिछानेलाई सम्मान गरिएको थियो ।

Exit mobile version