देशमा आजः ८ बजे ८ खबर

एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

राष्ट्रियसभाका सांसदहरुले देशभरि रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टीकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन‘ ले नेपालबाट १५ हजारजना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो । रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजारजना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल भएको प्रतिवेदन पेस गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा लक्ष्यअनुसारको राजश्व संकलन गर्न चुकेको छ । सरकारले चालु आर्थिक वर्षको सात महिना बित्न एक दिन मात्रै बाँकी रहँदा लक्ष्यको ३९.४५ प्रतिशतअर्थात पाँच खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल दुर्घटनामा परेका छन् । दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरी फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् । उक्त गाडी दैलेखबाट काठमाडौ फर्किँदै गर्दा दैलेखको डुंगेश्वर गापा-१, चुप्रा नजिक दुर्घटना भएको एमालेका नेता विष्णु रिजालले जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित भएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित र नेपालको न्यायिक इतिहासमै पहिलो भएको उनले बताएका छन् ।

Exit mobile version