‘भ्रष्टाचार नियन्त्रणमा सबैको प्रयास आवश्यक’

“सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस मनाइएको छ ।
देशभरका अख्तियार सम्बद्ध कार्यालयहरूले अतिरिक्त क्रियाकलापसँगै भ्रष्टाचार विरुद्धको अन्तरक्रिया, तथ्यांक सार्वजनिक लगायतका कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् । त्यसक्रममा अख्तियारको नेपालगन्ज स्थित सम्पर्क कार्यालयले ‘स्थापना विशेष कार्यक्रम’को आयोजना गर्यो । जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी निम्त्याएको अख्तियारको स्थापना दिवसको कार्यक्रममा बढ्दो भ्रष्ट प्रवृत्ति प्रति छलफल गर्दै नियन्त्रणका लागि सबै सरोकारवालाहरूको इमान्दार प्रयासको आवश्यकता औंल्याइएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरीले सबैको प्रयासले मात्रै भ्रष्टचार नियन्त्रण हुने आशय व्यक्त गरे । उनले स्थानीय तहको नियमनको प्रयास गर्दै रहेको बताए ।
नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख प्रशान्त विष्टले योजनाको डिपिआर देखि नै भ्रष्टचार सुरु हुने बताए । उनले नीतिगत रूपमै भ्रष्टाचार मौलाइरहेकोले नियन्त्रणमा चुनौति रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कार्यक्रममा उपस्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सुशासन कायम गर्नका लागि प्रतिबद्ध हुन आग्रह गरे । जिल्लामा
आफुले अनुगमन गर्दा पाएको अवस्थाको तथ्यांक उल्लेख गर्दै उनले प्रत्येक सरकारी कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्ने बताए । ‘भ्रष्टाचार नियन्त्रण गर्न पहिले विचौलिया प्रवेश नै हुन नदिनुस्, सेवाग्राहीलाई सेवा प्रवाहमा कार्यालय आफैले सहजीकरण गर्ने व्यवस्था मिलाउनुस्’, प्रजिअ पोरखेलले भने । उनले जिल्लाको नेतृत्व सम्हालिसकेपछि बजार अनुगमनले तिव्रता पाएको, अघिल्लो आर्थिक बर्षको तुलनामा पहिलो ६ महिनामा तुलनात्मक राजश्व संकलन वृद्धि भएको, सुशासन कायम गर्न जिल्लामा गरेको प्रयासका बारेमा बताएका थिए ।
‘प्रविधिको प्रयोगले कार्यालयमा आइसकेको राजश्व अपचन हुने अवस्था छैन’, प्रजिअ पोखरेलले भने । उृनले हेलो सरकारमार्फत चालु आर्थिक बर्षमा प्राप्त ४० मध्ये ३६ उजुरी फस्र्यौंट गरिसकेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले योजना बनाउँदा नै भ्रष्टाचार उद्देश्य राख्ने गरिएको बताए । ‘कोटेशन मिलाएर भ्रष्टाचार गर्ने, मापदण्ड, सम्बन्धित ऐनहरूको पालना नगर्ने प्रवृत्ति छ’, उनले भने ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका कर्मचारी लक्ष्मण बहादुर केसीलाई सम्मानित गरिएको थियो भने स्थापना दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरू लाई पुरस्कृत गरिएको थियो ।

Exit mobile version