बाल सुधार गृहको व्यवस्थापनमा चुनौती

बाँके जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ । १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ता (बालबन्दी) हरुलाई कारागार चलान नगरी बाल सुधार गृहमै राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको हो ।

बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन् । अहिले यी दुई बाल सुधार गृहलाई उनीहरूको व्यवस्थापनमा सुरक्षा चुनौती बढेको छ । जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ । झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ । त्यस्तै उद्घाटन अगावै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ । पुस १३ गते शुक्रबारदेखि सोमबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो । यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याईंकर्ताहरु दुई समूहमा विभाजित हुनु हो ।’ उनीहरु समूहमा विभाजित हुँदा एक समूहले अर्को समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ । १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ताहरुलाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए ।   

झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सीप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ । तर, यहीभित्रका बालबिज्याईंकर्ताहरु बीच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन । बालबिज्याईंकर्ताहरुले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन् । ‘स्वच्छ खानेपानी खान पाएका छैनौँ । खाना पनि त्यति राम्रो हुँदैन,’ एकजना बालबिज्याईंकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ । आफन्त भेट्न पनि काँडे तारले छेकिन्छ ।’ बाल सुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरुपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याईंकर्ताहरुले बताएका छन् । बाल सुधार गृहमा चुस्त दुरुस्त व्यवस्थापन नभएको बाल अधिकारकर्मी साहिल अन्सारीले जनाए । ‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरुलाई सुधार हुने खालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरुको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुदलगायतका क्रियाकलाप गर्नुपर्छ । जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ ।’ उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच आपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो ।  आपराधिक  क्रियाकलापतिर ढकेल्ने होइन ।’

बाल सुधार गृहमा व्यवस्थापनमा चुनौती हुँदा यहाँका बालबिज्याईंकर्ताहरु कूलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरु बताउँछन् । ‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ बालबिज्याईंकर्ताकी एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ ।’ बाल सुधार गृहमा रहेका बालबिज्याईंकर्ताहरुलाई सुध्रिने खालका गतिविधि गर्नु पर्ने उनको भनाइ छ ।

Exit mobile version