बम जस्तो देखिने शंकास्पद वस्तु भेटियो

विराटनगर महानगरपालिका-३ दुर्गा चोक नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सोमबार साँझ आँपको रुख र एउटा घरको बीचमा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ । शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा आइपुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शंकास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ समेत गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आबद्ध रहेको खुलेको छ । उनीहरुको पूरा विवरण प्रहरीले सार्वजनिक गरेको छैन । विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरी स्रोतले बताएको छ । घटनास्थलमा ‘आर्थिक सहयोग गरिदिनु हुन’ भनेर लेखिएको पर्चा पनि फेला परेको छ ।

Exit mobile version